नेपाली कांग्रेस बैतडीले जिल्लाका सबै पालिकाहरूको सम्मेलन जेठ ३० गते तोकेको छ । जसका लागि सबै पालिकाहरूमा प्रतिनिधि खटाइएको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।
सम्मेलनका पुर्चौडी नगरपालिकामा जिल्ला सचिव देवराज जोशी,सिगास गाउँपालिकामा जिल्ला सचिव प्रेमबहादुर चन्द,पाटन नगरपालिकामा जिल्ला उपसभापति वीरबहादुर विष्ट,सुर्नया गाउँपालिकामा प्रदेश सभा ख का क्षेत्रीय सभापति शिवराज भट्ट,डिलाशैनी गाउँपालिकामा जिल्ला सहसचिव दशरथ चाँडलाई प्रतिनिधिका रूपमा खटाईएको छ ।
यस्तै दोगडाकेदार गाउँपालिकामा जिल्ला कोषाध्यक्ष चक्रबहादुर चन्द,दशरथचन्द नगरपालिकामा जिल्ला उपसभापति खगेन्द्रसिंह धामी,पञ्चेश्वर गाउँपालिकामा प्रदेश सभा क का क्षेत्रीय सभापति विष्णुदत्त भट्ट,शिवनाथ गाउँपालिकामा जिल्ला सहसचिव दीपेन्द्रबहादुर चन्द र मेलौली नगरपालिकामा पुर्व पार्टी सभापति नरेन्द्रसिंह थापालाई प्रतिनिधिका रूपमा खटाइएको नेपाली कांग्रेस बैतडीले जनाएको छ ।
पालिका सम्मेलन पुर्व हाल जिल्लामा सबै वडाहरूमा वडा सम्मेलन जारी रहेको छ । दोगडाकेदारका सबै वडाहरूमा हाल वडा सम्मेलन जारी रहेको पालिका सभापति नन्दराज भट्टले जानकारी दिनुभयो ।
सम्मेलनमा कांग्रेसको संगठनको अवस्था,पार्टीको संरचना,पार्टी सुदृढीकरणका लागि खेल्नुपर्ने भूमिका, संगठन विस्तारका लागि अपनाउनुपर्ने रणनीतिका बिषयमा सम्मेलनमा छलफल हुने गरेको जनाइएको छ । यस्तै पार्टीभित्र देखिएका समस्या समाधानका बिषयमा पनि सम्मेलनमा छलफल भइरहेको छ ।
सभापति चन्दले भन्नुभयो,“ वडातहमा पार्टीको संरचना र पार्टी सुदृढीकरण, संगठन बिस्तारका लागि सम्मेलन थालिएको हो । यसले कांग्रेसलाई गतिशील बनाउनका लागि पनि महत्वपूर्ण भूमिका रहनेछ।”
पालिका सम्मेलन सम्पन्न भएपछि असार २ गते जिल्ला सम्मेलनको आयोजना गरिने नेपाली कांग्रेस बैतडीले जनाएको छ ।