बैतडी– बैतडीको पञ्चेश्वर गाउँपालिका १ स्थित पञ्चेश्वर स्वास्थ्यचौकीमा सुत्केरी सेवा बन्द गरिएको छ ।
स्वास्थ्यचौकीमा पानीको अभाव रहेकोले सेवा सञ्चालन गर्न नसकिने अवस्था आएपछि सुत्केरी सेवा बन्द गरिएको स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले बताए ।
उनले भने, “आकाशे पानीको भरमा स्वास्थ्य सेवा सञ्चालन गरिरहेका छौँ । जमागरेको पानी सकियो अहिले वर्षा भएको छैन् । विना पानी कसरी सेवा दिनु ? पानीको अति समस्या भएर यो सेवा बन्द गर्न बाध्य भएका हौँ ।’’
स्वास्थ्यचौकी हुँदै अर्को टोलमा पानी जाने भएपनि स्वास्थ्यचौकीका लागि स्थानीयले पानी नदिएपछि सुत्केरी सेवा बन्द गर्नुपरेको उनको भनाइ छ ।
“समितिसंग पनि पानीको जोहो गर्न अनुरोध गर, यहाँका स्थानीय तथा मुल भएका ठाउँबाट पनि पानी दिन गुहार गरेँ तर कसैले दिएनन् । स्थानीयतहलाई पनि आग्रह गरे कुनै वास्ता नै भएन । पानी विना कसरी सेवा दिन समस्या भयो, उनले भने ।’’
स्वास्थ्यचौकीमा पानीको व्यवस्थापनका लागि हारगुहार गरेको भएपनि कसैले चासो नदिएको जनाइएको छ । सुत्केरी सेवा बन्द हुँदा त्यहाँ गर्भवती महिलाहरुले घरमै बच्चा जन्माउनुपर्ने अवस्था सिर्जना भएको छ ।
यसले मातृमृत्यु र शिशु मृत्यु हुने जोखिम बढाएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । पानीको अभावमा सेवा बन्द गर्नुपर्दा समेत पञ्चेश्वर गाउँपालिकाले कुनै ध्यान दिन सकेको छैन् ।
पानी अभाव भएको भन्दै स्वास्थ्यचौकीले सुत्केरी सेवा बन्द गरेको हो । २०५२ सालदेखि नियमित सुत्केरी सेवा दिँदै आएको स्वास्थ्यचौकीले एक सूचना जारी गर्दै आइतबारदेखि सेवा बन्द भएको जनाएको छ ।
