बैतडी -जीपको ठक्करबाट पाटन नगरपालिका ८ का वडाध्यक्ष हरिश विष्ट र वडा नम्बर ९ का वार्ड सचिव रामदत्त जोशी घाइते भएका छन् । दशरथचन्द राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका ६ हिरापुरमा वडाध्यक्ष र वार्डसचिवलाई जीपले ठक्कर दिएको हो ।
पाटनबाट खोडपेतर्फ गइरहेका विष्टले चलाएको सुपप्र ०४००१ ब १२९ नम्बरको जीप र विपरीत दिशाबाट गइरहेको सुपप्र ०१००१ च २६६९ बोलेरो जिप सोमबार साँझ साढे ५ बजेतिर हिरापुरमा एक आपसमा ठोक्किएका हुन् । जीपले ठक्कर दिएपछि मोटरसाइकल चालक विष्टको टाउको,मुख र खुट्टमा चोट लागेको छ । मोटरसाइकलमा सवार वार्ड सचिव जोशीको खुट्टामा चोट रहेको प्रहरीले जनाएको छ । घाइते दुबैजनालाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।
ठक्कर दिने जीप र चालक कैलालीको चुरे गाउँपालिका ६ का २४ वर्षीय इन्द्रबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।