डडेल्धुरा- जिल्लाको भागेश्वर गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । भागेश्वर गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । कार्यक्रममा जिल्ला पूर्ण खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारी र जिल्ला पूर्ण खोप समन्वय समितिका सदस्य सचिवसमेत रहेका स्वास्थ्य कार्यालयका प्रमुख केशरबहादुर साउँदले सयुक्त रुपमा पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी भण्डारीले सबै मापदण्ड पूरा गरेर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सफल भएकोमा भागेश्वर गाउँपालिकालाई धन्यवाद दिए । ‘आर्थिक अभाव लगायतका कारणले खोप छुट्नसक्ने अवस्था रहेकोमा भागेश्वर गाउँपालिका सबैलाई खोप दिन सफल भएकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छु,’ उनले भने । गाउँपालिकाका अध्यक्ष हेमराज चटौतले राष्ट्रिय पूर्ण खोप निर्देशिकाअनुसार गाउँपालिकालाई यस वर्षका लागि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जानकारी दिए । ‘ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न ठुलो योगदान पुगाउने पालिकाका सम्पूर्ण स्वास्थ्यकर्मी र स्वयमसेविकालाई धन्यवाद दिन चाहन्छु,’ उनले भने ।
गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक मानबहादुर शाहुले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नका लागि पालिकामा रहेका १६ देखि ५९ महिनाका बालबालिकाको घरधुरी सर्वेक्षण गरिएको जानकारी दिए । ‘सो क्रममा विभिन्न वडामा ११ जना बालबालिकालाई खोप छुटेको पाइएको र उनीहरुलाई पनि खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो,’ शाहुले भने ।
पाँच वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाएर पालिकाले प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नु पर्दछ। सबै पालिका घोषणा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिन्छ । बालबालिकालाई प्रत्येक महिना नै १३ प्रकारका रोगविरुद्ध खोप लगाउने गरिन्छ । नियमित खोपबाट छुटेका बालबालिकालाई माघदेखि बैशाखसम्म खोज र खोप अभियान चलाउने गरिएको छ । छुटेका बालबालिकालाई अभियानले समेटेपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको छ ।