डडेल्धुराको अजयमेरु गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डडेल्धुरा-अजयमेरु गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। मगंलबार अजयमेरु गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य संयोजक गणेश पालले बताए।

कार्यक्रममा जिल्ला पूर्ण खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारी र जिल्ला पूर्ण खोप समन्वय समितिका सदस्य सचिवसमेत रहेका स्वास्थ्य कार्यालयका प्रमुख केशरबहादुर साउँदले सयुक्त रुपमा पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथी भण्डारीले सबै मापदण्ड पूरा गरेर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सफल भएकोमा अजयमेरु गाउँपालिकालाई धन्यवाद दिए। ‘आर्थिक अभाव लगायतका कारणले खोप छुट्नसक्ने अवस्था रहेकोमा अजयमेरु गाउँपालिका सबैलाई खोप दिन सफल भएकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छु,’ उनले भने ।

राष्ट्रिय पूर्ण खोप निर्देशिका अनुसार गाउँपालिकालाई यस वर्षका लागि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जानाईएको छ। स्वास्थ्य संयोजक पालले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नका लागि पालिकामा रहेका १६ देखि ५९ महिनाका बालबालिकाको घरधुरी सर्वेक्षण गरिएको जानकारी दिए। पाँच वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाएर पालिकाले प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नु पर्दछ।

सबै पालिका घोषणा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिन्छ। बालबालिकालाई प्रत्येक महिना नै १३ प्रकारका रोगविरुद्ध खोप लगाउने गरिन्छ। नियमित खोपबाट छुटेका बालबालिकालाई माघदेखि बैशाखसम्म खोज र खोप अभियान चलाउने गरिएको छ। छुटेका बालबालिकालाई अभियानले समेटेपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको छ।

Leave A Reply

Your email address will not be published.