बैतडी–निरन्तरको वर्षाका कारण सडक माथिबाट खसेको पहिरोले जयपृथ्वी राजमार्ग गएरातिदेखि अवरुद्ध भएको छ । उक्त राजमार्ग अन्र्तगत बैतडीको श्रीभावरमा पहिरो खस्दा यातायात सेवा पूर्ण रुपमा बन्द भएको हो ।
यातायात सेवा पूर्ण रुपमा अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् । बैतडी हुदै बझाङ जाने र बझाङबाट बाहिरिने यात्रुहरु बीचबाटोमै अलपत्र परेका हुन् ।
राजमार्ग अवरुद्ध भएपछि पहिरो पन्छाउन जेसीबी पठाइएको भएपनि वर्षा निरन्तर भइरहेकोले समस्या भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक, योगेश खत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“ पहिरो पन्छाउन जेसीबी पुगिसकेको छ, पानी पर्ने क्रम नरोकिएको पहिरोमाथिबाट पहिरो खसिरहेको छ । पहिरो पन्छाउन सकिएको छैन् ।”
पानी नरोकिदासम्म पहिरो पन्छाउन नसकिने र राजमार्ग सुचारु गर्न अझै केहि समय लाग्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।