बैतडी–लागुऔषधविरुद्ध बैतडी प्रहरी सक्रिय भएको छ। बैतडी प्रहरीले लागुऔषधविरुद्ध विषेश अप्रेशन सञ्चालन गरेको हो। जिल्ला प्रहरी कार्यालयले चालुु आर्थिक वर्षको हालसम्म लागु औषध चरेश ओसारपसार, बिक्रि वितरण र सेवनमा संलग्न रहेका १४ जनालाई पक्राउ गरिसकेको छ। बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक योगेश खत्रीको कमाण्डमा खटिएको प्रहरीको विषेश अप्रेशन टोलीले विभिन्न समयमा गरेर उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेकामध्ये १३ जनाविरुद्ध मुद्धा दर्ता गरी कारवाही र एक जना बिरुद्ध मुद्धा चलिरहेको र फैसला हुन बाँकी रहेको छ। उनीहरुको साथबाट ६ सय ६३।६७ ग्राम, चरेस बरामद गरिएको थियो।
लागुऔषधविरुद्ध विषेश अप्रेशन नै सञ्चालन गरिएको प्रवक्ता खत्रीले बताउनुभयो। भारतसंग सीमा जोडिएको जिल्ला रहेकोले पनि यहाँ लागुऔषध ओसारपोसार र विक्रीवितरण बढी हुने पाइएको छ। उहाँले भन्नुभयो,“लागुऔषधविरुद्ध अप्रेसन नै चलाएर यसको नियन्त्रणमा प्रहरी लागेको छ।”
प्रहरी आफैं पनि सेवनकर्ताको भेष धारण गरेर वा गोप्य सूचनाको आधारमा विक्रीवितरण गरिरहेकाहरुलाई पक्राउ गरिएको छ। उहाँले भन्नुभयो,“अप्रेसनका क्रममा कहिलेकाँही प्रहरी आफै पनि सेवनकर्ताको भेष धारण गरेर पनि चरेश विक्री वितरण गर्नेलाई पक्राउ गरेका छौं, कहिले सूचनाको आधारमा समातेका छौं। ”
लागु औषधले समाजमा नकारात्मक प्रभाव पारिरहेकाले त्यसको नियन्त्रणका लागि प्रहरीले विशेष अप्रेशन सञ्चालन गरेको हो।
विद्यालयमा सचेतना कक्षा यसका साथै विद्यार्थीहरुलाई लागु औषध दूव्र्यशनी बिरुद्ध सचेतना मुलक कार्यक्रम गरिएको प्रहरीले जनाएको छ। जिल्लाका सबै विद्यालयमा गएर कक्षा नै लिएर विद्यार्थीहरुलाई लागुऔषधविरुद्ध सचेतनामूलक कक्षा सञ्चालन भइरहेका हुन्।
लागुऔषध विरुद्धको अभियानका बारेमा विद्यार्थीको धारणा बुझ्ने र लागुऔषधका क्रियाकलापमा संलग्न नहुन सचेत गराउन अभियान नै थालिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो। विद्यालयमा गएर सचेतना फैलाउन थालेपछि उनीहरुले लागुऔषधविरुद्धमा सचेतना फैलाउने, अभिभावक र छरछिमेकलाई दुर्व्यसनीविरुद्ध सजग गराउने भएकोले यो अभियान थालिएको हो। उहाँले भन्नुभयो,“ विद्यालयमै गएर विद्यार्थी असल सेवक बन्न सकोस, कुसल राष्ट्रसेवक र नेतृत्वकर्ता बन्न सकोस र उनीहरुले समाजलाई पनि पनि सिकाउन भन्ने उद्धेश्यका साथ विद्यालयलाई पहिलो प्राथमिकता दिएर अभियान सञ्चालन गरेका हौं।”
लागुऔषध चरेशका कारण लागु औषध दुव्र्यसनीमा फस्नेको संख्या बढ्दै गएकाले प्रहरीको सक्रियता बढाउनु राम्रो कार्य रहेको सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथले बताउनुभयो। उहाँले भन्नुभयो,“ लागु औषध दुव्र्यसनीमा फस्नेको संख्या बढ्दै गएको र यसले समाजमा विभिन्न खालका अपराध निम्त्याउन सक्छ, प्रहरीले लागुऔषधविरुद्ध बढाएको सक्रियता राम्रो काम हो, यसले नियन्त्रणमा सहयोग पुग्छ।”