बैतडीका छ वटा स्वास्थ्य संस्थालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएका छन्। जिल्लाको पुर्चौडी नगरपालिकामा रहेको हाट स्वास्थ्य चौकी, शिवनाथ गाउँपालिकाको श्रीपुर आधारभुत स्वास्थ्य केन्द्र, दशरथचन्द नगरपालिकाको दशरथचन्द स्वास्थ्य चौकी, सुरकाल आधारभुत स्वास्थ्य केन्द्र, त्रिपुरासन्दरी स्वास्थ्य चौकी र पाटन नगरपालिकाको सकार स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो ।
स्वास्थ्य मन्त्रालयको पोषणमैत्री स्वास्थ्य संस्था कार्यान्वयन निर्देशिका बमोजिम १० वटा पूर्वतयारीका अनिवार्य मापदण्डहरु पूरा गरेपछि, पोषणमैत्री निर्धारणका १६ वटा सूचकहरु पूरा गरेपछि पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो।
पोषणमैत्री स्वास्थ्य संस्था घोषणाका लागि स्वास्थ्यकर्मीहरु मध्येबाट एकजना सम्पर्क व्यक्ती तोकिएको, स्वास्थ्य संस्थामा पोषण विषेश सेवा दिनका लागि आवश्यक पोषणसम्बन्धी एकजना तालिमप्राप्त जनशक्ति हुनुपर्ने,स्वास्थ्य संस्थामा खानेपानी तथा स्वच्छतासम्बन्धी पूर्वाधार पूरा गरेको,बच्चाको तौल लिने मेसिन,उचाई, लम्बाई लिने मेसिन उपलब्ध भएको,पोषण विषेश सेवा प्रदान गर्नका लागि आवश्यक औषधि तथा सामग्रीहरु एक महिनाका लागि पुग्ने गरि मौज्दात भएको,मासिक रुपमा कम्तीमा कम्तीमा एकपटक स्वास्थ्य संस्थासञ्चालन तथा व्यवस्थापन समितिको बैठक बसेर पोषण सम्बन्धी छलफल भएको,पोषण कर्नर स्थापना भएको लगायतका १० वटा पूर्वतयारीका मापदण्ड पूरा गरेको हुनुपर्छ।
यसका साथै गर्भवती महिलाले कम्तीमा ८ पटक पूर्व प्रसुती जाँच गरेको,सुत्केरी महिलाले कम्तीमा ३ पटक उत्तर प्रसुति जाँच गरेको,गर्भ अवधिभर १८० आइरन चक्की खाएको,स्वास्थ्यसंस्थामा सुत्केरी गराएको,बच्चा जन्मेको १ घण्टाभित्रै स्तनपान गराएको, बालबालिकाले भिटामिन ए, जुकाको औषधि खाएको,नियमित बृद्धि अनुगमन गरेको,पूर्ण खोपयुक्त स्वास्थ्यसंस्था भएको लगायतका १६ सूचक पूरा गरेपछि पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्ने गरिन्छ ।
पोषणमैत्री स्वास्थ्यसंस्था घोषणाका लागि संघ सरकारले बजेट सबै पालिकालाई पठाउने गरेको र पालिकाहरुले घोषणा गर्ने गरेका हुन् । जिल्लाका १० वटै पालिकाहरुमा गरेर एकसय छ वटा स्वास्थ्य संस्था रहेका छन् । बाँकी रहेका स्वास्थ्य संस्थाहरुलाई पनि आगामी दिनमा क्रमिक रुपमा पोषणमैत्री घोषणा गरिने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।