बैतडीका आधाभन्दा बढी मुहानको पानीमा कोलीफर्म‚ पिउनयोग्य नरहेको पुष्टि

बैतडीका आधाभन्दा बढी मुहानको पानी पिउनयोग्य नरहेको पाइएको छ। स्वास्थ्य कार्यालयले मुहानहरुको पानी परीक्षण गर्दा आधाभन्दा बढी मुहानहरुको पानी पिउनयोग्य नरहेको पाइएको हो।

यहाँका खानेपानीका मुहानको पानी परीक्षण गर्दा ५० दशमलव ८ प्रतिशत मुहानको पानीमा दिसामा हुने ‘कोलीफर्म’ किटाणु भेटिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

स्वास्थ्य कार्यालयले जेठ र असारमा गरेको नमूना संकलन तथा परीक्षणमा ५० प्रतिशतभन्दा बढी खानेपानीका मुहानमा उक्त कीटाणु भेटिएको हो। उनले भने, ‘ खानेपानीका मुहानहरूको पानी परीक्षणका क्रममा ५० दशमलव ८ प्रतिशत मुहानहरुको पानीमा दिसामा पाइने कोलीफर्म भेटिएको छ। जुन पिउनयोग्य छैन।’

जिल्लाका सबै स्थानीय तहका बासिन्दाले नियमित प्रयोग गर्दै आएका खानेपानीका मुहान, धारा र ट्याङ्कीबाट नमूना संकलन गरि परीक्षण गर्दा दिसामा हुने कीटाणु कोलीफर्म भेटिएको हो।

स्थानीय बासिन्दाले नियमित प्रयोग गर्दै आएका २६९ पानीका मुहानबाट नमूना संकलन गरि परीक्षण गरेकोमा १३६ ओटा मुहानको पानी पिउनयोग्य नरहेको पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ।

दशरथचन्द नगरपालिकामा ३४ ओटा मुहानको नमूना संकलन गरि परीक्षण गर्दा ११ ओटा खानेपानीका मुहानमा कोलीफर्म भेटिएको छ।

पुर्चौडी नगरपालिकाका ३० मध्ये १२, पाटन नगरपालिकाका २९ मध्ये १३, मेलौली नगरपालिकामा ३१ मध्ये १७ खानेपानीका मुहानमा उक्त कीटाणु भेटिएको हो।

पञ्चेश्वर गाउँपालिकाका १८ मुहानमध्ये १४ मा, शिवनाथ गाउँपालिकाका १८ मध्ये १२, सिगास गाउँपालिकाका ३७ मध्ये १०, सुर्नया गाउँपालिकाका २४ मध्ये १७ दोगडाकेदार गाउँपालिकाका २७ मध्ये १८ र डिलाशैनी गाउँपालिकाका २१ खानेपानीका मुहानबाट नमूना संकलन गरि परीक्षण गर्दा १२ ओटा पानीका मुहानमा कोलीफर्म भेटिएको छ।

कोलीफर्म भेटिनु दिसा रहेको, प्रदूषित र पिउनयोग्य नरहेको पानी रहेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर दीपेश श्रेष्ठले जानकारी दिए। कोलीफर्म भएको पानी पिउनाले झाडापखाला, टाइफाइड, हैजा र आउ जस्ता विभिन्न सरुवाको रोगको संक्रमण बढ्ने सम्भावना हुन्छ।

उनले भने, ‘कोलीफर्म भएको पानीले झाडापखाला, टाइफाइड, हैजा र आउँजस्ता रोगहरु फैलाउँछ।’ कोलीफर्म भेटिएको मुहानको पानी उमालेर, शुद्धीकरण तथा फिल्टर गरेर मात्रै पिउन आग्रह गरिएको छ।

यसका साथै खानेपानीका मुहान वरिपरि सरसफाइ तथा उचित किसिमको ढल निकास नहुँदा ढलको पानी मुहान मिसिन गइ दूषित हुने गरेकाले नियमित सरसफाइ गर्न आवश्यक रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

Leave A Reply

Your email address will not be published.