बैतडी । आज साउन १ गते असार सकिएर साउन अथवा साउन महिना शुरु भएको छ। साउन महिनाको पहिलो दिन अर्थात आज साउने सक्रान्ति पर्व मनाइँदै छ।
असार महिनाभर धान रोपाइँ लगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने गर्दछन्। हिलो माटोमा काम गर्नुपर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने संक्रान्तिको दिन लुतो फाल्ने प्रचलन समेत रहि आएको छ। परम्परानुसार , लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ।
लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ। यसो गर्दा छालासम्बन्धी कुनै पनि रोग नलाग्ने विश्वास छ। साथै यस महिनामा अत्यन्त वर्षा हुने भएकोले यसलाई पावस रितु पनि भनिन्छ। यो भगवान शिवको महिना हो, यसै कारणले यस महिनाको हरेक सोमबार अविवाहित महिलाहरुले व्रत बस्ने र राम्रो वर पाउने भनि शिवको आराधना गर्ने चलन पनि रहि आएको छ।
साथै साउनमा महिलाहरुले हरियो चुरा, रातो, पहेँलो वस्त्र, मेहन्दी लगाउँछन्। यो रंगीन महिनाको शुरुवात भनेकै कर्कट संक्रान्ति हो। हरियो रङ्गमा यस पर्वको विशेष अर्थ रहेको पाइन्छ। आफूले चाहेजस्तो जीवनसाथीको आकांक्षा र यसका अलावा परिवारजनमा सुख, शान्ती र कान्ती छाइरहोस् भनेर पनि रंगीन चुराहरु लाउने गरिन्छ।
साउन महिनाभर शिवालय विशेषगरी मन्दिरमा भक्तजनको भीड लाग्छ। त्यस्तै साउने संक्रान्तिबाट सूर्यले दक्षिणतर्फको यात्रा तय गर्ने भएकाले यस दिन विशेषलाई दक्षिणायन समेत भनिन्छ। सूर्यले आजको दिन मिथुन राशिबाट कर्कट राशि परिवर्तन गर्दछन्। त्यस्तैले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ।