बैतडी ।
बैतडीको सिगास गाउँपालिका –२ स्थित गाँजरी बजारमा अवैध रुपमा सञ्चालन रहेको क्लिनिक सिल गरिएको छ। प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा गरिएको छड्के अनुगमनमा गाँजरीमा रहेको जै अनिरुद्र सिगास क्लिनिक सिल गरिएको हो।
क्लिनिक सिल गर्नुका साथै सञ्चालक खेमराज अवस्थीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो। अवस्थीले क्लिनिकका साथै मेडिकल पनि सञ्चालन गरेका थिए।
छड्के अनुगमनका क्रममा अवस्थीलाई बिरामी जाँचिरहेका अवस्थामा पक्राउ गरिएको र उक्त पसल सिल समेत गरिएको हो। उहाँले भन्नुभयो,“स्वास्थ्य सम्बन्धी कुनै लाइसेन्स नभएका अवस्थी बिरामीहरूलाई स्लाइन चढाइरहेकै अवस्थामा भेटेपछि नियन्त्रणमा लिइएको छ।”
खेमराजले २०७१ सालदेखि हिमालय अवस्थीको नामको पान नम्बर लिएको तर मेडिकल र क्लिनिकका लागि अनुमति नै नलिएर सञ्चालन गरिरहेका थिए।
अनुमतीबिना मेडिकल र क्लिनिक सञ्चालन गरिरहेको गुनासो आएपछि अनुगमन गरिएको प्रजिअ पन्थीले बताउनुभयो। उहाँले भन्नुभयो,“ खेमराजले अनुमतीबिना मेडिकल र क्लिनिक सञ्चालन गरिरहेको गुनासो आएको थियो, हामीले पटक-पटक अवैध मेडिकल बन्द गर्नुस् भनेर खबर गर्दा नि, अटेरी गरेपछि छड्के अनुगमन गरेका हौं। हाम्रो टोली पुग्दा बिरामी स्लाइन चढाएको र जाँचीरहेको भेट्टायौं। अब कानुनअनुसार कारबाही हुन्छ। ”
प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा गरिएको छड्के अनुगमनमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम बहादुर शाही,स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्ट लगायतको सहभागिता रहेको थियो।
