यसपालि मनसुन शुरु भएपछि पहिलोपटक एकसाथ देशभर वर्षा भएको छ। अस्तिरातिदेखि हिजोसम्म देशभर वर्षा भएको थियो। यसअघि निश्चित क्षेत्रमा मात्रै पानी परेको थियो भने बेलाबेलामा खण्डे वर्षा भने भइरहेको थियो ।
यसपालि गएको जेठ ३१ गते पूर्वी क्षेत्र हुँदै मनसुन नेपाल भित्रिएको थियो। मनसुनको शुरुवातमा पूर्वी पहाडी जिल्लामा जनधनको क्षति हुने गरी केही दिन ठूलो पानी परेको थियो भने भित्रिएको १० दिनपछि मात्रै मनसुन देशभर सक्रिय भएको थियो।
यसबीचमा पहाडी क्षेत्रमा पानी परिरहे पनि तराई मधेशमा पर्न सकेको थिएन। तर, अस्ति रातिदेखि हिजोसम्म मधेश प्रदेशसहित देशभर पानी परेको छ। पहाडी जिल्लामा पनि बाढी पहिरोले नोक्सानी गरेको छ। पहिरोमा परेर मकवानपुर, सर्लाही र धुनषामा गरी चार जनाको ज्यान गएको छ।
सात जना बेपत्ता छन्। त्यस्तै सर्लाहीमा दुई र मकवानपुर तथा धनुषमा एक एक जनाको ज्यान गएको हो।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपाल नजिक रहेकाले आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनेछ । बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा भने ठूलो पानी पर्ने उहाँले बताउनुभयो ।
आज अस्तिराति र हिजोको जस्तो लगातार ठूलो पानी पर्ने सम्भावना भने नरहेको उहाँको भनाइ छ । तर, बाढी पहिरोको जोखिम भने कायमै छ ।
हिजो र अस्तिको पानीले गलेका जमिनमा पहिरोको जोखिम रहेको र नदी तथा खेलामा पनि जलसतह बढेकाले मध्यम वर्षा हुँदा पनि बाढी आउन सक्ने हुँदा सचेत रहन मौसमविद्को आग्रह छ ।