आज गौरा पर्वको मुख्य दिन ‘अठ्यावाली’ एवं दुर्वाष्टमी, सुदूरपश्चिममा सार्वजनिक बिदा

बैतडी । बैतडी सहित सुदूरपश्चिममा आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदैछ। भाद्र शुक्ल अष्टमीका दिन मनाइने पर्वमा उमा महेश्वरसहित दुबोको पूजा गरिन्छ।

भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ। पहिलो पटक व्रत बस्नेले भाद्र शुक्ल अष्टमी अर्थात् उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधानमा उल्लेख छ। गौरालाई सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रमा ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरिन्छ। 

गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा, तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा राखेर देवीको आकार बनाउने गरिन्छ। यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन घरमा भित्र्याएर बर्तालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको छ।

यो पर्वका लागि भाद्र शुक्ल पञ्चमीका दिन केराउ, जौ, मस्याङ, मास र गुराँसको गेडा भिजाएर राखिन्छ, यसलाई बिरुडा भनिन्छ। अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रूपमा बिरुडा चढाइन्छ। भक्तजनलाई पनि प्रसादका रूपमा बिरुडा नै बाँडिन्छ। पाँच किसिमका गेडागुडी भिजाउने दिनलाई बिरुडा पञ्चमी भनिन्छ।

दुई तीन दिन पूजा गरिसकेपछि मङ्गलबार र शनिबार नपारी देवीलाई नदी, कुवा, पोखरी वा जलाशयमा लगी सेलाइन्छ। देवीलाई विसर्जन गरेपछि मागल अर्थात् माङ्गलिक कर्ममा गाइने भजन, गीत आदि गाएर रमाइलो गर्ने परम्परा छ।

गौरा पर्वका अवसरमा गाइने विभिन्न धार्मिक, सांस्कृतिक गीत, भजन तथा देउडा लगायतका नाच नेपालका अमूल्य लोक संस्कृति भएको सस्कृतका जानकार बताउछ। यो बर्ष गौराको तिथीका बिषयमा ज्योतिषहरुबीच विवाद भएपछि केही ठाउँमा भदौ १८ गतेदेखि गौरा मनाउने तयारी रहेको छ।

यसैबीच गौरापर्वको अवसरमा सुदूरपश्चिम प्रदेशमा आज र भोलि दुईदिन सार्वजनिक बिदा दिइएको छ। सुदूरपश्चिमेलीको मुख्य पर्व गौराको अवसरमा प्रदेश सरकारले दुई दिन सार्वजनिक बिदा दिएको हो।

Leave A Reply

Your email address will not be published.