बाजुरा -गएराती चट्याङ लागेर बाजुरामा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको बडीमालिका नगरपालिका वडा न। ६ कोर्धका स्थानीय तुला रावलकी ११ वर्षीय छोरी परु रावलको मृत्यु भएको बताइएको छ ।
गएराती करिव साढे १२ बजेको समयमा चट्याङ लागेर उनको मृत्य भएको वडा न। ६ का वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष परे बडुवालले जानकारी दिए । उनका अनुसार बालिका सहित तीन पशुचौपाया पनि मरेको बताइएको छ । मृतक रावलका बुवा सहित तीन जना मागथला नाम गरेको लेखमा खर्क हालेर बस्दै आएका थिए । उक्त लेखमा करीब १ घण्टाको बाटो हिडेर पुगिन्छ ।
चट्याङका कारण बालिका संगै अन्य दुई जना पनि बेहोस अवस्थाम आफन्तले भेटेको तर अहिले भने उनिहरुको होस खुलेको कार्यवाहक अध्यक्ष बडुवालले बताए । मृतक बालिका गाँउमै रहेको नेरा आधारधुत बिद्यालयमा कक्षा २ मा अध्यनन्रत थिइन् ।
घटना बारे चट्याङ परेको भन्ने खबर आएपनि अन्य आधिकारिक जानकारी भने नआएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डीएसपी कबिन्द्र बोहराले बताए । घटना बारे थप जानकारी आउन बाँकी छ ।