अझै खुलेन जयपृथ्वी राजमार्ग,दशरथचन्द राजमार्ग पनि बन्द

बैतडी।
अविरल वर्षापछि सडक माथिबाट ठुलो ढुंगा खसेर अवरुद्ध भएको जयपृथ्वी राजमार्ग अझै खुल्न सकेको छैन् । आइतबार दिउँसो १ बजे उक्त राजमार्गको बैतडीको पाटन नगरपालिका ८ विजयपुर नजिकै सडक माथिबाट ठुलो ढुंगा खसेर अवरुद्ध भएको थियो ।

खोडपेबाट पठाएको जेसिबीले उक्त ढुंगा फुटाल्न नसकेपछि बझाङबाट ठुलो मेसिन मगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“ सडकमा खसेको उक्त ठुलो ढुंगाको केहि भाग फुटालेर सानो गाडीहरु पास भइरहेका छन्, ठुलो गाडी बन्द रहेका छन् ।”
आइतबार देखि उक्त राजमार्ग अवरुद्ध हुँदा बझाङ्गबाट बाहिरिने र बझाङ्ग जाने ठुला गाडीहरु रोकिएका छन् ।

यस्तै दशशरथचन्द राजमार्गको सतबाँझ–गोठलापानी सडकखण्डको गुरुखोला नजिक सडकमा रुख खस्दा अवरुद्ध भएको छ । गएराति खसेका चारवटा रुख ढलेर राजमार्ग अवरुद्ध पारेको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।
रुख हटाउन जेसिबी पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
राजमार्ग अवरुद्ध भएर यातायातका साधन रोकिदा यात्रुहरु अलपत्र परेका छन् ।

शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित हुनुका साथै बाढी र पहिरोको जोखिम बढाएको छ ।

Leave A Reply

Your email address will not be published.