बैतडी । आत्महत्या रोकथाम दिवस मनाइएको छ। स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा आइतबार विश्व आत्महत्या रोकथाम दिवस मनाइएको हो। आशा जगाऔँ, जीवन रक्षा गरौँ भन्ने नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस मनाइएको स्वास्थ्य कार्यालय बैतडीका सूचनाअधिकारी बिपीन लेखकले बताए।
बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको प्रमुख आतिथ्यतामा आत्महत्या रोकथाम विषयमा सारोकारवाला निकाय संग अन्तरक्रिया कार्यक्रम गरिएको उनले बताए। अन्तरक्रियामा सहभागिहरुले सामाजिक सञ्जालको दुरुपायोग, बेरोजगारी र मानसिक समस्याका कारण आतमहत्याका घटना बढ्दै गएको जानकारी दिए।
मानसिक स्वास्थ्यलाई देविदेवता संग जोडेर गलतधारणा बनाउने कूप्रचलनले आत्महत्या रोकथाममा चुनौती बढेको स्वास्थय कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले बताए। यस्तै बैतडी जिल्लामा गत आर्थिक वर्षमा २५ जनाले आत्महत्या गरेका छन भने चालु वर्षको साउन र भदौमा मात्रै ६ जनाले आत्महत्या गरेको पाइएको छ।