अविरल वर्षापछि पहिराका कारण अवरुद्ध भएका जयपृथ्वी र दशरथचन्द राजमार्ग सुचारु भएका छन्। आइतबार दिउँसो १ बजे जयपृथ्वी अन्र्तगत बैतडीको पाटन नगरपालिका ८ विजयपुर नजिकै ठुलो ढुंगा र गएराति दशरथचन्द राजमार्ग अन्र्तगत बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोला रुख ढलेर अवरुद्ध बनेको थियो।
विजयपुरमा खसेको ढुंगालाई बझाङ्गबाट मगाइएको मेसिनले फुटाएपछि र गुरुखोलामा ढलेका रुखहरु जेसिबीको सहयताले पन्छाएपछि दुबै राजमार्ग सञ्चालनमा आएका बैतडीका निमित्त प्रहरी प्रमुख,योगेश खत्रीले जानकारी दिनुभयो।
यसअघि विजयपुरमा खसेको ढुंगाको केही भाग जेसिबीले फुटालेर सानो गाडी मात्रै पास भइरहेकोमा बिहान १० बजेपछि ठुलो गाडी पनि सञ्चालन भएका प्रहरीले जनाएको छ।
दुबै राजमार्ग सञ्चालनमा आएसंगै रोकिएका सवारी र यात्रुहरु आ आफ्नो गन्तव्यतर्फ लागेका छन्।
शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित हुनुका साथै बाढी र पहिरोको जोखिम बढेको छ।