बैतडी -संविधान दिवस २०८० को पूर्वसन्ध्यामा बैतडीमा आयोजित खुल्ला डबल ब्याटमिन्टन प्रतियोगिताको सुपर आठमा पुग्ने सबै टोलीको टुंगो लागेको छ ।
सुपर आठमा एक भारतीय र सात नेपाली टोली पुगेका दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिनुभयो ।
समूह ए बाट बैतडीका आनन्द थापा र कैलाश थापाको जोडी तथा डडेल्धुराका निरज सिजापती र नन्द कठायतको जोडी, समूह बी बाट बैतडीका लोकेश ठगुन्ना र सन्तोश कनौजियाको जोडी तथा भारतका मनोज जोशी र मुकेश बर्माको जोशी सुपर आठमा सुरक्षित भएको छ ।
यसका साथै समूह सी बाट बैतडीका चन्द्र डोबाल र भवानी भट्टको जोडी तथा डडेल्धुराका प्रेम बोहरा र राम बहादुर ठकुराठीको जोडी, समूह डी बाट बैतडीका अंकित जोशी र हरिश भण्डारीको जोडी तथा डडेल्धुराका योगेश मौनी र हरिओम केसीको जोडी पनि सुपर आठका लागि छनौट भएको हो ।
दशरथचन्द नगरपालिकाको आयोजना र कर्मचारी मिलन केन्द्रको समन्वय र सहजीकरणमा प्रतियोगिता असोज १ गतेदेखि शुरु भएको थियो ।
गढीस्थित जगन्नाथ ब्याडमिन्टन कोर्टमा जारी प्रतियोगितामा दुई भारतका, दुई डडेल्धुरा, दुई दार्चुला र २२ टोली बैतडीका गरी २८ टोलीको सहभागीता रहेको थिए ।
असोज ३ गते सम्पन्न हुने प्रतियोगितामा प्रथम हुने जोडीले १५ हजार,द्वीतीयले १० र तृतीयले पाँच हजार पुरस्कार पाउने जनाइएको छ ।
संविधान दिवसको अवसर पारेर ब्याडमिन्टन प्रतियोगिताका साथै सरकारी कार्यालय, त्रिपुरा सुन्दरी,जगन्नाथ मन्दिर सरसफाई र शहीद दशरथचन्दको शालिकमा माल्र्यापण गर्ने कार्यक्रम पनि रहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो ।