बैतडी । सर्पले टोक्दा बैतडीमा एकजना घाइते भएका छन्। घाइते हुनेमा जिल्लाको सिगास गाउँपालिका २ धौलाडीकी ३२ वर्षीया भागादेवी धामी रहेकी छन्।
घर नजिकै घाँस काटिरहेका बेला सर्पले डसेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो। घाइते भागालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। यो बर्षमात्रै बैतडीमा बिषालु सर्पको टोकाइबाट चार जनाको मृत्यु भइसकेको छ। पञ्चेश्वर गाउँपालिका तीनजना र सिगास गाउँपालिकाका एकजनाको सर्पको टोकाइबाट मृत्यु भएको थियो। यस्तै दुई जना घाइते भएका छन्।
पञ्चेश्वर गाउँपालिका १ सेरीकी ५५ बर्षीया पार्वती घटालको सर्पको टोकाइबाट भदौ १२ गते मृत्यु भएको थियो भने साउन अन्तिम साता पञ्चेश्वर–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको मृत्यु भएको थियो । यस्तै वैशाख तेस्रो हप्ता पञ्चेश्वर गाउँपालिका २ डाँगाटोलकी २५ वर्षीया निर्मला लुहारको पनि सर्पको टोकाइबाट मृत्यु भएको थियो। यस्तै जिल्लाको सिगास गाउँपालिका ७ पिपलचौताारका ५५ बर्षीय करी दमाईको गएको जेठ १३ गते सर्पको टोकाइबाट मृत्यु भएको थियो। यस्तै भदौ २९ गते मेलौली नगरपालिका १ बगजेबलाका १७ वर्षीय सुजल दयाल सर्पले टोक्दा घाइते भएका थिए।
जिल्ला अस्पताल बैतडीमा सर्पदंशको उपचार हुने भएपनि वैद्यको भरपर्दा सर्पदंशका बिरामीहरुले अकालमा ज्यान गुमाउने गरेका छन्। सर्पले टोकीहालेमा वैद्यकहाँ झारफुक गर्ने प्रचलनले जटीलता निम्त्याएको स्वास्थ्यकर्मीहरुले बताएका छन्।