गजलकार सृष्टि सावित्राका दुई गजल

गजल

हरेक रात सपना हरुको उठान हुन्छ
अचेल यसैगरी मेरो बिहान हुन्छ ।।

नजर जुधेकै हुँदैन जीवन काट्ने सँग
मन दुखाउने सँग पहिल्यै चिनजान हुन्छ ।।

परेलीहरु हरेकदिन सागरमा डुबेपनि
ओठ भनेको डुङ्गा हो संधै मुस्कान हुन्छ ।।

म हारिदिन्छु तिमी जितेर उपहार जानू
आउ यसपटक तिम्रो सम्मान हुन्छ ।।

कोही भएझैं लाग्छ साथ नभएर पनि
कसैको बिर्सनै नसक्ने पहिचान हुन्छ ।।

गजल
मुटु यस्तो ठाउँमा छ, ढोका बिनाको
आँखा उस्तै खुलेआम छ पर्दा बिनाको ।।

बरु प्रत्येक घरमा आमा नहुन सक्छिन
यस्तो कुनै मन्दिर छैन ढुङ्गा बिनाको ।।

केही पाउन केही गुमाउनु पर्छ मित्र
हुँदैनन सुन्दर फूलहरु काँडा बिनाको ।।

धनीलाई होटल चल्ने गरिब भोकै मर्ने
रहेछ तिम्रो शहर पनि मानवता बिनाको ।।

इज्जत लिलाम भयो शरीर धितोमा छ
छन मेरा कयौं रात सपना बिनाको ।।
सृष्टि सावित्रा
मोरङ

 

Leave A Reply

Your email address will not be published.