झुलाघाट नाका दशैँमा पनि पूर्ण सञ्चालन नहुने

बैतडी -भारतीय सीमानाका झुलाघाट अझै पूर्ण रूपमा सञ्चालनमा आएको छैन।

झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुंगे पुल मर्मत कार्य भइरहेकोले गएको असोज ९ गतेदेखि आंसिक रूपमा मात्रै आवतजावत भइरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।

पुल मर्मतका लागि ४५ दिनको ठेक्का दिइएकोले अझै केही दिन आंशिक रूपमै आवतजावत हुने प्रजिअ पन्थीले बताए।

पुल मर्मतको काम भइरहेकाले बिहान ८ बजेर ४५ मिनेटदेखि दिउँसो १ बजेर १५ मिनेटसम्म र दिउँसो २ बजेर १५ मिनेटदेखि दिउँसो ४ बजेर १५ मिनेटसम्म पुलमा आवागमन बन्द हुने गरेको छ।

झुलाघाट पुलमा आंशिक रुपमा मात्रै आवतजावत भइरहेकाले दशैंका लागि झुलाघाट नाका भएर घर फर्कनेहरुलाई केही समस्या भएको छ। तोकिएको समयमा मात्रै आवतजावत गर्न पाइने भएकाले स्वदेश फर्कनेहरुलाई केही समस्या भइरहेको हो।

भारतीय पक्षले झुलाघाट पुल मर्मतको काम गरिरहेको हो। पुलमा काठका नयाँ फल्याक राख्ने काम भइरहेको छ भने खिया लागेको फलाम पनि बदल्ने काम भइरहेको बताइएको छ।

झोलुंगे पुल मर्मतका विषयमा सीमा समन्वय बैठकमा सहमति भएको र सोहीअनुसार पुल मर्मतको काम भइरहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

सीमा नाका झुलाघाटमा करिब डेढसय वर्षअघि इष्ट इण्डिया कम्पनीले निर्माण गरेको झोलुंगे पुलबाट आवतजावत गर्ने गरिएको छ। यो पुल जीर्ण भएकाले बेलाबेलामा मर्मतसम्भार गर्ने गरिएको छ।

Leave A Reply

Your email address will not be published.