बैतडी-बैतडी सहित सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा रहेका शक्तिपीठहरूमा आइतबार सामुहिक रुपमा जमरा राखिएको छ। देशका अन्य ठाउँमा घरघरमा जमरा राख्ने चलन भए पनि यहाँ भने हरेक वर्ष सामुहिक रूपमा नै जमरा राख्ने प्रचलन रहेको पण्डित जयानन्द भट्टले बताउनुभयो ।
दशैंको पहिलो दिन तथा घटस्थापनामा गाउँका सबै मानिसहरुले घरघरबाट जौं लगेर मन्दिरमा सामूहिक रुपमा जमरा राख्ने चलन रही आएको छ।
शक्तिपीठ तथा मन्दिरहरुमा जमरा राख्नु अघि भण्डार घरबाट शक्तिपीठ तथा मन्दिरहरुमा देउरो लग्ने चलन रही आएको छ ।
माता भगवतीलाई मनपर्ने बनस्पति जमरा भएकाले भगवतीलाई खुशी पार्नको लागि जमरा उमार्ने गरिएको हो। यसैगरी माटोको विशुद्ध जलपूर्ण घडाको वरिपरि नौवटा देवीको स्वरुपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ छर्ने गरिएको छ। सामूहिक रुपमा जमरा राख्दा सबैसँग भेटघाट हुने गरेको र यसले गर्दा आपसी सद्भाव पनि बढ्ने गरेको छ।
सामूहिक रुपमा मन्दिरमा जात्रा लागेर मन्दिर तथा मन्दिर भण्डार गृहमा जमरा राख्ने गर्दछन्। यसले पारिवारिक मिलन समेत हुने गरेको छ। यसले समाजमा भातृत्वको भावनाको विकास गर्ने विश्वास छ। गहुँ र जौको अंकुर दुर्गादेवीको प्रिय वस्तु भएकाले यस दिन रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ।
बैतडीका प्रसिद्ध शक्ति पीठहरूमा पनि आइतबार विधिपूर्वक जमरा राखिएको छ। जिल्लाको देहीमाण्डौंमा रहेको निङ्गलाशैनी भगवती मन्दिर, त्रिपुरासुन्दरी भगवती मन्दिर, तल्लादेही तथा मल्लादेहीमा रहेको डिलाशैनी भगवती मन्दिर, मेलौलीमा रहेको मेलौली भगवती मन्दिरमा विधिपूर्वक जमरा राखिएको हो। यसैगरी पाटनको उदयदेव, महारुद्र, विभिन्न ठाउँका भूमिराजलगायतका मन्दिरहरूमा विधिपूर्वक जमरा राखिएको छ।
दशैँ सामाजिक सद्भावको पर्व भएकाले यो समयमा सामूहिक रुपमा मन्दिरमा जमरा राख्ने चलन रही आएको दोगडाकेदारका गणेश विष्टले बताउनुभयो । देवी देवताका मन्दिरहरूमा जमरा राखेर सामूहिक रुपमै पूजाआजा गर्ने चलन छ। दशैँको अवसरमा नवरात्री उपसाना गरेर पूजाआजा गर्ने चलन रही आएको छ।
घटस्थापनाका दिन राखिएको जमरालाई धेरै जसो ठाउँमा अष्टमीका दिन काट्ने चलन रही आएको छ।
आइतबारदेखि जमरा राखिएका मन्दिरमा रातमा समेत जाग्राम बसेर पूजाआजा गर्ने चलन रही आएको छ। जमरा देवीको प्रसादका रुपमा विजया दशमीका दिन मान्यजनको हातबाट टीकासँगै लगाइने गरिन्छ।
यसैबीच देशका अन्य ठाउँमा दशैँको बेला खानपिन गर्ने चलन रही आएको भए पनि सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा चोखोभोको रहेर नवरात्र उपासना गर्ने चलन रही आएको आचार्य घनश्याम लेखकले बताउनुभयो।
नवरात्र शुरु भएसंगै देवीदेवताका मन्दिरहरुमा भक्तजनहरुको घुइचो बढेको छ । दशैंको बेला बसाइसराई गरेर गएकाहरु पनि गाउँ फर्कने भएकाले मन्दिरहरुमा घुइचो लागेको हो । जिल्लामा रहेका देवीका मन्दिरहरुमा घटस्थापनाकै दिनदेखि भक्तजनहरुको घुइचो लाग्ने गरेको छ ।
बैतडीमा रहेका शक्तिपीठ तथा मन्दिरहरुमा दशैंको बेला सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत दर्शनका लागि पुग्ने गरेका छन् ।
दशैंका बेला यहाँका शक्तिपीठ तथा मन्दिरहरुमा जात्रासमेत लाग्ने र भगवतीका मन्दिरहरूमा बलिसहित पुजाआजा पनि हुने गरेको छ ।