बैतडीको झुलाघाट नाका पूर्णरूपमा खुल्यो

भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आजदेखि पूर्ण रुपमा आवागमन सुचारु भएको छ। झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुंगे पुलको मर्मत सम्भार कार्य भइरहेकाले असोज ९ देखि आंशिक रुपमा मात्रै आवतजावत भइरहेको थियो।

पुल मर्मत कार्य सम्पन्न भइसकेकाले आजदेखि पूर्ण रुपमा आवागमन सुचारु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो। यसअघि पुल मर्मतको कामका लागि बिहान ८ बजेर ४५ मिनेटदेखि दिउँसो १ बजेर १५ मिनेटसम्म र दिउँसो २ बजेर १५ मिनेटदेखि दिउँसो ४ बजेर १५ मिनेटसम्म पुलमा आवागमन बन्द हुने गरेको थियो।

पूर्णरूपमा नाका सुचारू भएसंगै अब बिहान ६ बजेदेखि साँझ सात बजेसम्म आवागमन हुनेछ। झुलाघाट नाका पूर्ण रुपमा सञ्चालनमा आएसंगै दशैंका लागि घर फर्कने नागरिकहरुलाई सहज भएको छ। नाकामा आंशिक रुपमा मात्रै आवतजावत भइरहेका बेला घर फर्कने नागरिकलाई समस्या भएकोमा अब झण्झट नहुने सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ।

नाका पूर्ण रुपमा सुचारु भएसंगै दशैंको समयमा बैतडीका शक्तिपीठहरुमा दर्शनका लागि आउने भारतीय दर्शनार्थीहरुलाई समेत सहज भएको छ। तडीका निङ्गलाशैनी, त्रिपुरासुन्दरी, मेलौली, उदयदेव लगायतका मन्दिरहरुमा दर्शनका लागि दशैंको समयमा भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन्।

झुलाघाट नाकामा करीब दुई सय बर्ष अघि इष्टइण्डिया कम्पनीले निर्माण गरेको झोलुंगे पुलबाट आवतजावत हुँदै आएको छ। पुल जीर्ण भएपछि सीमा समन्वय बैठकमा पुल मर्मत सम्भार गर्ने निर्णय भएको थियो। झुलाघाटमा पक्की पुल नहुँदा जीर्ण पुलबाट आवतजावत गर्नुपर्ने बाध्यता छ।
पुल मर्मतका लागि नाका बेलाबेला बन्द गर्ने गरिएको छ।

Leave A Reply

Your email address will not be published.