पिपिएल क्रिकेट: टिम क्वालीटीको दोस्रो जित, प्रदीप उत्कृष्ट

बैतडी । टिम क्वालीटी कैलपालले बैतडीमा जारी तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ। सोमबार पहिलो खेलमा दशरथचन्द स्मृति प्रतिष्ठानलाई ३८ रनले पाखा लगाउदै कैलपालले दोस्रो जित निकालेको हो। यसअघि आइतबार पहिले खेलमा मेलौली नगरपालिकालाई १२१ रनले स्तब्ध पार्दै कैलपालले सुखद सुरूआत गरेको थियो ।

सोमबार जितका लागि पाएको १८३ रनको लक्ष्यसहित मैदान उत्रेको प्रतिष्ठानले १५ ओभरमा ७ विकेट गुमाएर १४४ रन मात्रै बनाउन सक्यो। उसका डम्मर तिरुवाले ६३ रनको अर्धसतकीय पारी खेलेपनि जितका लागि प्रयाप्त भएन। कैलपालका आकास चन्द, दिपक चन्द र लोकेन्द्र चन्दले समान दुईरदुई विकेट लिए।

त्यसअघि श्रीकृष्ण खेल मैदान,पाटनमा टस जितेर पहिला ब्याटिङ गरेको कैलपालले निर्धारित १५ ओभरको समाप्तीमा ५ विकेट गुमाएर १८२ रन बनायो। जसमा प्रदिप चन्दले अर्धसतकीय पारी खेल्दै ६९ रनको पारी खेले। उनी म्यान अफ दी म्याच समेत चुनिएका स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिए। प्रदिप यसअघि पहिलो खेलमा पनि म्यान अफ दी म्याच भएका थिए।

आजै भएको दोश्रो खेलमा टस जितेर ब्याटिङ गरेको सहस्त्रलिङ्ग क्रिकेट क्लब भुमेश्वर क्रिकेट क्लबका विरूद्ध १४।३ओभरमा ८७ रनमा समेटियो। भुमेश्वरले ८८ रनको विजय लक्ष्य ६.२ ओभरमा भेट्टायो। भुमेश्वरको जितमा ४५ रन जोडेका केशव टेर म्यान अफ द म्याच भए।

यसैगरी आजै भएको अन्तिम खेलमा मेलौली नगरपालिकाले ग्वाल्लेक क्रिकेट क्लबलाई ६ विकेटले स्तब्ध पारेको छ। ग्वाल्लेकको यो दोस्रो हार हो। पहिलो खेलमा कैलपाल प्रतिष्ठानसंग ८२ रनले हारेको थियो।

ग्वाल्लेकले दिएको ११२ रनको लक्ष्य मेलौलीले ११ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।मेलौलीका लागि सुनिल क्षेत्रीले २४ रन हिर्काएर एक विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको ग्वाल्लेकले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर १११ रन बनायो । यो खेलमा सुनिल क्षेत्री म्यान अफ द म्याच बन्न सफल भए।

पाटन क्रिकेट क्लबको आयोजनामा आइतबारदेखि सुरु भएको प्रतियोगितामा १७ टोलीको सहभागीता रहेको छ। प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ र द्वितिय हुने टिमले ५५ हजार ५५५ रुपैया नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ।

Leave A Reply

Your email address will not be published.