दनपा २ देहिमाडाैं, बैतडीको दशरथचन्द नगरपालिकामा जारी नगरस्तरीय टी–२० क्रिकेट प्रतियोगिताकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ। देहिमाडाैंले दनपा ६ थालिगडालाई ९ विकेटले स्तब्ध पार्दै सेमिफाइनलमा पुगेकाे हाे।
थालिगडाले दिएकाे ५० रनकाे लक्ष्य देहिमाडाैंले ६.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्याे। जसमा खडक बाेहराले २१ रन बनायाे । त्यसअघि बुड्डाबाजे क्रिकेट मैदान रातामाटामा टस जितेर पहिला ब्याटिङ गरेकाे थालिगडा १२.५ ओभरमा ४९ रनमा समेटियाे। उसमा नवीन ठगुन्नाले मात्रै दाेहाेराे अंकमा रन जाेड्न सके।
देहिमाडाैंका समीर बाेहरा र गजेन्द्र बाेहराले समान ४/४ विकेट लिए। समीर म्यान अफ दी म्याच चुुनिएका स्काेरर तिलक बाेहराले जानकारी दिए। यस्तै आजै भएकाे अर्काे खेलमा दनपा ११ नागार्जुन विजयी भएकाे छ। नागार्जुनले दनपा ५ दशरथचन्दलाई ५ विकेटले हरायाे।
पहिला ब्याटिङ गरेकाे दशरथचन्दले १४२ रन बनायाे।जवाफमा नागार्जुनले १४.५ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्याे। नागार्जुनका लागी २ विकेट र २२ रन बनाएका मदन चन्द म्यान अफ दी म्याच भए। कात्तिक १५ गतेदेखि सुरु भएको प्रतियोगितामा ११ नगरका ओटै वडाका ११ टीमको सहभागिता रहेको छ ।
यही कात्तिक २२ गते सम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टीमलाई नगद २२ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै दोश्रो हुने टीमलाई नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै म्यान अफ दि सिरिजलाई नगद २ हजार २५० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । बेस्ट बलर र बेस्ट ब्याट्सम्यानलाई समान १ हजार १२५ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले बताए ।
नगर खेलकुद विकास समितिको बार्षिक कार्यतालिका अनुसार दशरथचन्द नगरपालिकाको सहयोगमा प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयाेग पुग्ने विश्वास गरिएको छ।
यसैबीच समापन समाराेहमा क्रिकेट खेलमा अन्तर्राष्ट्रिय टाेलीमा सहभागी भएका पुरुष खेलाडीहरुलाई दाेसल्ला र कदर पत्र बाट सम्मान गरिने जनाएको छ।