बैतडीको दशरथचन्द नगरपालिकामा जारी नगरस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगितामा दनपा ११ नागार्जुनले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। शुक्रबार सम्पन्न खेलमा दनपा ७ दुर्गास्थानलाई ७ विकेटले स्तब्ध पार्दै नागार्जुनले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।
जितका लागि पाएको १०६ रनको लक्ष्य नागार्जुनले १०।२ ओभरमा पूरा गर्यो । जसमा कप्तान राम चन्दले नटआउट ३२ रनको योगदान गरे । त्यसअघि बुड्डाबाजे खेलमैदान,रातामाटामा टस जितेर पहिला ब्याटिङ गरेको दुर्गास्थान १८ ओभरमा १०५ रनमा अलआउट भयो । उसका लागि वसन्त बडूले सर्वाधिक २५ रनको योगदान गरे ।
नागार्जुनका मदन चन्द र प्रेम चन्दले समान ३÷३तथा राम चन्दले १ विकेट लिए । राम चन्द म्यान अफ दि म्याच घोषित भए । यस्तै अर्को खेलमा दनपा १० बाराकोटले दनपा ९ ग्वाल्लेकलाई ६९ रनले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको बाराकोटले १८।४ ओभरमा अलआउट हुँदै १३७ रन बनायो । उसका लागि सुमित बुडालले ४८ रनको योगदान दिए ।
१३८ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको दनपा ९ ले १६।५ ओभरमा अलआउट हुँदै ६८ रन मात्रै बनाउन सक्यो । उक्त खेलमा दनपा १० का सुमित बुडाल म्यान अफ दि म्याच घोषित भए । नगर खेलकुद विकास समितिको बार्षिक कार्यतालिका अनुसार दशरथचन्द नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा ११ ओटै वडाका ११टीमको सहभागिता छ ।
यही कात्तिक क २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टीमलाई नगद २२ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै दोश्रो हुने टीमलाई नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै म्यान अफ दि सिरिजलाई नगद २ हजार २५० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने बेस्ट बलर र बेस्ट ब्याट्सम्यानलाई समान १ हजार १२५ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ। यसैबीच समापन समारोहमा क्रिकेट खेलमा अन्तर्राष्ट्रिय टोलीमा सहभागी भएका पुरुष खेलाडीहरुलाई दोसल्ला र कदर पत्र बाट सम्मान गरिने नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले बताए ।