बैतडीको दशरथचन्द नगरपालिकामा जारी नगरस्तरीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। समूह चरणका खेल सकिएसंगै सेमिफाइनल समिकरण पूरा भएको हो। सोमबार सम्पन्न खेलमा दनपा ८ त्रिपुरालाई २ विकेटले हराउदै दनपा ४ खलंगा सेमिफाइनल पुग्ने अन्तिम टोली बनेको छ ।
यसअघि दनपा २ देहिमाडौं,दनपा १० बाराकोट र दनपा ११ नागार्जुन सेमिफाइनल पुगिसकेका छन्। त्रिपुराले दिएको १०३ रनको सामान्य लक्ष्य खलंगाले १८।१ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो। जसमा राजु भाटले ४३ र प्रदीप चन्दले २२ रन बनाए। त्रिपुराका नवीन थापाले ४ विकेट लिए।
त्यसअघि बुड्डाबाजे खेलमैदान रातामाटामा पहिला ब्याटिङ गरेको त्रिपुराले १९।१ ओभरमा सबै विकेटको क्षतिमा १०२ रन बनायो । जसमा मुकेश थापाले सर्वाधिक २४ रनको योगदान गरे । खलंगाका वसन्त खत्रीले ४,सन्तोष चन्दले ३ विकेट लिए । वसन्त म्यान अफ द म्याच समेत चुनिएका अम्पायर महेश भण्डारीले जानकारी दिनुभयो ।
यसैबीच सेमिफाइनलका दुबै खेल मंगलबार हुनेछन्। पहिलो खेलमा खलंगा र नागार्जुन भिड्दा दोस्रोमा देहिमाडौं र बाराकोट आमने सामने हुनेछन्।
नगर खेलकुद विकास समितिको बार्षिक कार्यतालिका अनुसार दशरथचन्द नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा ११ ओटै वडाका ११टीमको सहभागिता रहेकोमा चार समूहमा विभाजन गरिएको थियो।
यही कात्तिक २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टीमलाई नगद २२ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै दोश्रो हुने टीमलाई नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै म्यान अफ दि सिरिजलाई नगद २ हजार २५० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने बेस्ट बलर र बेस्ट ब्याट्सम्यानलाई समान १ हजार १२५ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रत्येक खेलका म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद रु ५००र( कप प्रमाण पत्र दिदै आएको छ। प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ।
यसैबीच समापन समारोहमा क्रिकेट खेलमा अन्तर्राष्ट्रिय टोलीमा सहभागी भएका पुरुष खेलाडीहरुलाई दोसल्ला र कदर पत्र बाट सम्मान गरिने नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले बताए ।