रूपान्तरण कक्षाले बालविवाहसम्वन्धि धारणा परिवर्तन हुँदै गरेको पाइएको छ। बुधबार दोगडाकेदार गाउँपालिका कार्यालयमा यूएनएफपीएको सहयोगमा भीएसओ र पिसविनको साझेदारीमा आयोजना गरिएको स्थानीय तह र किशोरकिशोरी अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले रूपान्तरण कक्षाले बालविवाहसम्वन्धि धारणा परिवर्तन हुँदै बताएका हुन्।
उमेर नपुग्दै छोराछोरीको विवाह गर्ने चलन रहेको भएपनि रूपान्तरण कक्षाले २० वर्षपुगेपछि मात्रै विवाह गर्नुपर्ने सिकाई भएको दोगडाकेदार गाउँपालिका ७ का विरभान कार्कीले बताउनुभयो। रूपान्तरण कक्षामा बालविवाहका साथै क्षमता अभिबृद्धि, छुवाछूत, कानुन, लैंगिक हिंसा, जीविकोपार्जन, प्रजनन स्वास्थ्य, लागुपदार्थ दुर्वयसनी, सञ्चारको दुरूपयोग सम्बन्धिका कुराहरूको जानकारी दिइन्छ ।
रूपान्तरण कक्षाबाट बालविवाहले पर्ने शारिरिक र मानसिक असरका साथसाथै क्षमता अभिवृद्धि पनि भएको सक्षम किशोरकिशोरी समूहकि सहजकर्ता रेखा कार्कीले बताउनुभयो । उक्त कक्षाबाट सिकेका कुराहरूलाई अभिभावक र गाउँसमाजलाई पनि जानकारी दिने गरिएको सिर्जनशिल किशोरकिशोरी समूहकि सहजकर्ता जानकी भट्टले बताउनुभयो ।
रूपान्तरण कक्षाबाट उमेर पुगेपछि बिहे गर्नुपर्छ मात्रै नभएर आफू सक्षम भएपछि बिहे गर्नुपर्ने रहेछ भन्ने कुरा सिकिएको कार्यक्रममा सहभागी अर्की किशोरी पुष्पा भाटले बताउनुभयो । बालविवाहले शारीरिक र मानसिक समस्या देखा पर्ने भएकाले बालबिवाह अन्त्य गर्नुपर्ने दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताउनुभयो ।
रूपान्तरण कक्षाले किशोरकिशोरी र अभिभावकमा बालविवाह सम्बन्धिको धारणा परिवर्तन भएको दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयो। महिनावारी नहुदै छोरीको विवाह गरिदिदा पुण्य कमाइन्छ भन्ने गलत मान्यताका कारण यसअघि बालविवाह हुँदै आएको स्मरण गर्दै उपाध्यक्ष कार्कीले अब भने त्यो मान्यता हट्दै गएको छ ।
बालविवाह न्युनीकरण र किशोरकिशोरीको क्षमता अभिबृद्धिका लागि गाउँपालिकाले सहयोग गर्ने उपाध्यक्ष कार्कीले प्रतिद्धता जनाउनुभयो।
दोगडाकेदार गाउँपालिकाको सनातन धर्म मावि,पञ्चदेव महानन्द मावि र न्वाली माविमा रूपान्तरण कक्षा सञ्चालन गरिएका थिए ।
रूपान्तरण कक्षा ३० हप्तासम्म सञ्चालन गरिएको पिसविन संस्थाका परियोजना अधिकृत कृष्णदत्त भट्टले बताउनुभयो । यसैबीच पालिका र किशोरकिशोरीबिच भएको अन्तरक्रियामा विभिन्न १० सुचकमा छलफल पनि भएको छ।
बालविवाह न्यूनीकरणका लागि रणनीतिक योजना बनाउने समेत तयारी भएको छ। बालविवाह न्यूनीकरण परियोजना बैतडीका ७ स्थानीय तहमा सञ्चालन हुँदै आएको जनाएको छ।
जसमा रूपान्तरण कक्षा, अभिभावकलाई तालिम, धामी झाँक्री, ज्योतिस, धार्मिक गुरुसंगको अन्तरक्रिया गर्ने गरिएको छ।