बैतडीको पाटनमा जारी तेश्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) मा मेलौली नगरपालिका फाइनलमा प्रवेश गरेको छ। पंचकोटीलाई रोमान्चक मोडमा ६ रनले पराजित गर्दै मेलौली फाइनलमा प्रवेश गरेको स्कोरर दिपेन्द्र बोहराले जानकारी दिए।
मेलौलीले दिएको १५९ रनको लक्ष पछ्याएको पंचकोटी १९।५ ओभरमा अलआउट हुदै १५२ रन मात्रै बनाउन सक्यो। अन्तिम दुई ओभर बाकी छदा ६विकेट गुमाएर पंचकोटीले १४९ रन बनाएको थियो।
पंचकोटीलाई जितका लागि १२ बलमा १० रनको आवश्यकता थियो भने ४ विकेट हातमा थियो। १९ औँ ओभरमा मेलौलीका नारायण जोशीले ३ रन दिएर १ विकेट लिए। अब जितका लागि पंचकोटीलाई ६ बलमा ७ रनको आवश्यकता थियो भने ३ विकेट हातमा थियो। तर अन्तिम ओभरमा मेलौलीका जयराम भट्टले एक रनआउट सहित ३ विकेट लिदै कुनै पनि रन नदिएर जिताईदिए। पंचकोटीका गजेन्द्र बोहराले ४६, सुमित बुडालले ४० रनको योगदान गरेका थिए।
मेलौलीका जयराम भट्टले ३ विकेट लिए संगै म्यान अफ दि म्याच घोषित भए । मंगेस दयाल र नरेन भट्टले सामान दुई दुई विकेट लिए । यसअघि कृष्ण माविको खेलमैदानमा टस जितेर ब्याटिङ गरेको मेलौलीले निर्धारित २० ओभरमा १५८ रन बनाएको थियो। मेलौलीका नरेन भट्टले ५२ रनको अर्धसतकीय पारी खेलेका थिए। सुनिल चन्दले ३६रनको योगदान गरे।
मेलौलीले अब उपाधिका लागि भोली कैलपालसँग खेल्ने छ ।