बैतडीको दोगडाकेदारमा जारी क्वालिटी कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुग्ने चारै टोलीको टुंगो लागेको छ। टिम बडिया,टिम रिखाली, टिम न्वाली र टिम जिमाकोट सेमिफाइनलमा पुगेका हुन्।
चनैराज खेलमैदान खोलाका सम्पन्न खेलमा खम्तोलालाई ९ विकेटले हराएर जिमाकोट सेमिफाइनलमा पुगेको छ। खम्तोलाले दिएको ५६ रनको लक्ष्य जिमाकोटले ५ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। उसका लागि ३ विकेट र ९ रन हिर्काएका प्रेम सिंह भाट म्यान अफ द म्याच भए।
बडियाले दिएको १३७ रनको लक्ष्य पन्छाएको श्रीकोट ११५ रनमा अलआउट भयो। बडियाका लागि ५ विकेट लिने र ५६ रन बनाउने हरिस सिंह भाट म्यान अफ द म्याच चुनिएका प्रतियोगिता संयोजक भोजराज जोशी क्वालिटीले जानकारी दिनुभयो। यस्तै बिटकमले दिएको ७७ रनको सामान्य लक्ष्य रिखालीले ७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । ३ विकेट र १५ रन बनाएका रिखालीका केशव भण्डारी म्यान अफ द म्याच भए ।
यस्तै अर्को खेलमा न्वालीले पिपलचौतारालाई हरायो । न्वालीले दिएको १७७ रनको लक्ष्य पन्छाउने क्रममा पिपलचौतारा ८१ रनमा समेटियो। न्वालीका लागि ४० रन र १ विकेट लिएका दानी बोहरा म्यान अफ द म्याच घोषित भए। श्रीकोट युवा क्लवको आयोजनामा सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ।
प्रतियोगिता अन्तरगतका सेमिफाइनल र फाइनल खेल भोलि हुने आयोजक श्रीकोट युवा क्लवका विनोद विष्टले बताउनुभयो । बिहान ९ बजेपछि हुने पहिलो सेमिफाइनलमा रिखाली र जिमाकोट भिड्दा त्यसपछि हुने दोस्रो सेमिफाइनलमा बडिया र न्वाली खेल्नेछन् ।
सेमिफाइनलमा जित्ने दुबै टोलीबीच फाइनल भिडन्त हुनेछ। प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने संयोजक जोशीको विश्वास रहेको छ ।