बैतडी । श्रीकोट युवा क्लवको आयोजनामा बैतडीको दोगडाकेदारमा जारी क्वालिटी कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलका खेलहरू पूरा भएका छन्। टिम न्वाली र टिम रिखालीले फाइनलमा पुगेका हुन्। रिखालीले जिमाकोटलाई ४ विकेटले पराजित फाइनल पुगेको हो।
जिमाकोटले दिएको ७८ रनको लक्ष्य रिखालीले ६ ओभरमा ६ विकेटको क्षतीमा पूरा गर्यो। जसमा केशव भण्डारीले २८ रनको योगदान गरे। जिमाकोटका पुष्कर भाटले ३ विकेटले लिए ।
त्यसअघि चनैराज खेलमैदानमा पहिला ब्याटिङ गरेको जिमाकोट ११.२ ओभरमा ७७ रनमा अलआउट भयो। उसका दिपेश भाटले २१ रन बनाए। रिखालीका केशव भण्डारीले ४ विकेट लिए। उनी खेलका म्यान अफ द म्याच चुनिए।
यस्तै अर्को सेमिफाइनलमा टिम बडियालाई ४० रनले हराएर टिम न्वाली फाइनलमा पुगेको छ। न्वालीले दिएको १८४ रनको लक्ष्य पन्छाएको बडियाले १४४ रन मात्रै बनाउन सक्यो। जसमा धनबहादुर महराले ६९ रनको योगदान गरेपनि टोलीलाई जिताउन सकेनन्। न्वालीका दानी बोहरा र लोकेन्द्र कार्कीले ३/३ विकेट हात पारे ।
यसअघि न्वालीले अनिल कार्कीको ९८ रनको मद्दतमा १८३ रन बनायो। बडियाका गणेश भाटले ३ विकेट लिए। न्वालीका अनिल कार्की म्यान अफ द म्याच भएका आयोजक श्रीकोट युवा क्लवका विनोद विष्टले बताउनुभयो ।
श्रीकोट युवा क्लवको आयोजनामा सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने संयोजक जोशीको विश्वास रहेको छ।