बैतडी । बैतडी सहित सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ मेलौली भगवती मन्दिरमा लाग्ने मेला ‘देहिजात’ मा प्राथमिक उपचार शिबिर सञ्चालन हुने भएको छ। मणिलेक माबिको जुनियर रेडक्रस सर्कलले शिबिर सञ्चालन गर्ने जनाईएको छ।
गत बिगतका बर्ष जस्तै यो बर्ष पनि प्राथमिक उपचार शिबिर सञ्चालन हुने जुनियर रेडक्रस सर्कलका सचिब भुपेन्द्र भट्टले बताए। शिबिरमा प्राथमिक उपचार, हराएको बच्चा/सर-समानको खोजिकार्य, केहि समस्यामा परेका ब्यक्तिहरुको समस्या समाधानको पहल गर्ने लगायतका सेवा प्रदान गरिने उनले बताए।
मेलौली नगरपालिकाको आर्थिक सहयोग तथा समन्वयमा शिबिर सञ्चालन हुने मणिलेक माबि जुनियर रेडक्रस सर्कलका शिक्षक नायक रमेश पोखरेलले बताए। मेलामा केहि समस्या तथा असहज भएमा शिबिरमा सम्पर्क राख्न आग्रह गरिएको छ।
कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने मेला भोली रतेडि पर्सि दिउसेडि मेला लाग्ने मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिह नायकले बताए। देहिजाँतको रूपमा परिचित मेला बलि सहितको भव्य रुपमा लाग्ने गर्छ।
मेला हेर्न र देबताको दर्शन गर्न सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेश र छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु पुग्ने गरेका छन। मेलामा सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्य, इष्टमित्र, साथीसंगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, यहाँको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न पाइन्छ।
स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्धनका लागि पनि मेला प्रसिद्ध छ। मेलाको अवशरमा मेलौली नगरपालिकाले भोली र पर्सि दुईदिन सार्वजनीक बिदा समेत दिएको छ।