बैतडी । १६ वर्षमुनिको राष्ट्रिय टिमका सदस्य मध्यक्रमका ब्याटर नरेन भट्ट इन्डियन प्रिमियर लिग (आईपीएल)को टिम राजस्थान रोयल्सको एकेडेमीमा प्रशिक्षणका लागि गएका छन्। ‘हाई पफर्मेन्स’ प्रशिक्षणका लागि भट्ट राजस्थान रोयल्सको एकेडेमीमा भर्ना भएका हुन्।
नेपाली क्रिकेट टिमले पनि ट्वान्टी–२० विश्वकप छनौट खेलअघि सोही एकेडेमीमा ‘हाई पफर्मेन्स’ प्रशिक्षण लिएको थियो। भट्ट पनि सोही स्तरको प्रशिक्षणका लागि एकेडेमीमा भर्ना भएका हुन्।
एक महिनाका लागि भट्टलाई उच्च स्तरको प्रशिक्षणका लागि उक्त एकेडेमीमा भर्ना गरिएको नरेनका दाई जयराम भट्टले बताएका छन्।
केही महिनाघघि मात्रै मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कपमा उत्कृष्ट प्रदर्शन गरेका भट्ट यू–१९ राष्ट्रिय टिमका लागि बलियो दाबेदारी राख्ने खेलाडी हुन्। उक्त प्रतियोगितको उपाधी नेपालले जितेको तियो।
फाइनल खेलमा भट्टले सतकीय पारी खेल्दै नेपाललाई जिताएका थिए। सोही अनुसार उनले प्रशिक्षण लिइरहेका छन्। मलेसियाबाट फर्किए लगत्तै एसीसी यू–१९ प्रिमियर कप क्रिकेटका लागि प्रारम्भिक टोलीमा स्थान बनाएका भट्ट प्लेइङका लागि आवश्यक प्रशिक्षण लिइरहेका छन्। घरेलु प्रतियोगितासँगै भारतबाट पनि उच्चस्तरको प्रशिक्षणमा व्यस्त रहेका भट्ट एक महिनापछि नेपाल फर्किने छन्।