बैतडीबाट सुरु हुँदै एमालेको संकल्प यात्रा ओलीले उद्घाटन गर्ने

बैतडी-नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ यही मङ्सिर १४ गतेदेखि शुभारम्भ हुने भएको छ। यात्राको नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्ने कार्यक्रम रहेको नेकपा एमाले बैतडीका जिल्ला कमिटी उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिए।

अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा नेपाली झण्डा झण्डोत्तोलन गरेर शुभारम्भ गर्ने कार्यक्रम छ। नेकपा एमाले बैतडीले जिल्लाको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङसम्मको ‘समृद्धिका लागि सङ्कल्प यात्रा, २०८०’को तयारी तीव्र पारेको जनाएको छ।

नेकपा एमालेको जिल्ला कमिटीदेखि पालिका कमिटी, वडा कमिटी, जनवर्गीय संगठनले आवश्यक तयारी थालिसकेको नेकपा एमालेका जिल्ला कमिटीका उपसचिव भण्डारीले बताए।

संकल्प यात्राको व्यवस्थापनको लागि गठन गरिएका विषयगत समितिले पनि काम गरिरहेका जनाइएको छ। जनपरिचालनको लागि आवश्यक तयारी थालिएको नेकपा एमाले बैतडीले जनाएको छ।

यो यात्रा मध्यपहाडी लोकमार्गकेन्द्रित हो। यही मंसिर १४ गते झुलाघाटबाट एमाले अध्यक्ष ओलीले बिहान ८ बजे संकल्प यात्राको समुदघाटन गर्नेछन्। त्यसपछि त्रिपुरा सुन्दरी मन्दिरको दर्शन, शहीद दशरथचन्द, बलदेव रिचपलेको साकिलमा माल्यार्पणको कार्यक्रम छ। त्यसपछि बिहान ११ बजे गोठलापानीमा विशाल आमसभाको आयोजना हुने नेकपा एमालेले जनाएको छ। त्यसपछि साँझ खोडपेमा बझाङका नेता कार्यकर्तासँगको भेटघाट रहेको जनाएको छ।

यसैबीच सङ्कल्प यात्रा सफल पार्न बैतडीमा एक हजार स्वयंसेवक परिचालन गर्ने भएको छ। बैतडीको अनारखोली देखी झुलाघाटसम्म एक हजार स्वयंसेवक परिचालन गरिने नेकपा एमाले जिल्ला कमिटीले जनाएको छ।

कार्यक्रमलाई सभ्य र भब्य बनाउन एक हजार स्वयंसेवक परिचालन गरिएको उपसचिव भण्डारीले बताए। बैतडीको अनारखोलीदेखि झुलाघाटसम्म परिचालन गरिएका स्वयंसेवक हरुको फरक फरक जिम्मेवारीसमेत दिइएको छ।

संकल्प यात्राअघि १३ मंसिरमा पाटनमा आयोजना गरिने अभिनन्दन समारोहलाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन्। सोहीदिन देहिमाण्डौँमा कार्यकर्ता र सुभेच्छुकहरूसँग भेटघाट र साँझ निङ्लाशैनी मन्दिरमा सन्ध्या आरतीमा सहभागी हुने कार्यक्रम तय गरिएको छ।

राष्ट्रिय एकताको सवल आधार निर्माण गर्ने उद्देश्यले १५ दिने अभियान आयोजना गर्न लागेको नेकपा एमालेले जनाएको छ।

Leave A Reply

Your email address will not be published.