नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बैतडी आउदैहुनुहुन्छ।एमालेको बिहीबार शुरू हुने ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राञ को उद्घाटनका लागि लागि ओली आज बैतडी आउन लाग्नुभएको हो।
ओलीको स्वागतमा बैतडीको प्रवेशद्वार अनारखोलीदेखि मोटरसाइकल र्यालीको आयोजना गरिएको छ। संकल्प यात्राअघि आज पाटनमा आयोजना गरिने अभिनन्दन समारोहलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । कम्युनिस्ट आन्दोलनमा योगदान गरेका व्यक्तिहरूलाई अभिनन्दन गर्ने जनाइएको छ। आजै देहिमाण्डौँमा कार्यकर्ता र सुभेच्छुकहरु संग भेटघाट र साँझ निङलाशैनी मन्दिरमा सन्ध्या आरतीमा सहभागी हुने कार्यक्रम तय गरिएको छ ।
संकल्प यात्राको ओलीले बिहीबार बिहान झुलाघाटमा नेपाली झण्डा झण्डोत्तोलन गरेर शुभारम्भ गर्नुहुने कार्यक्रम रहेको नेकपा एमाले बैतडीका जिल्ला कमिटि सचिव चक्र कार्कीले जानकारी दिनुभयो। संकल्प यात्राको समुदघाटनपछि त्रिपुरा सुन्दरी मन्दिरको दर्शन,सहीद दशरथचन्द, बलदेब रिचपलेको साकिलमा माल्यर्पणको कार्यक्रम छ। त्यसपछि बिहान ११ बजे गोठलापानीमा विशाल आमसभाको आयोजना गरिएको छ। त्यसपछि साँझ खोडपेमा बझाङका नेता कार्यकर्तासंगको भेटघाट रहेको जनाएको छ।
यो यात्रा मध्यपहाडी लोकमार्गकेन्द्रित हो। संकल्प यात्राका क्रममा स्थानीयसंग भेटघाट,सीमा समस्याका विषयमा छलफल र राष्ट्रिय एकताको सवल आधार निर्माण गर्ने उद्देश्यले अभियानको आयोजना गरिएको एमालेले जनाएको छ।