बैतडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरको दर्शन गर्नुभएको छ। झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राको उद्दघाटनका लागि बैतडी पुग्नुभएका अध्यक्ष ओलीले बुधबार साँझ देहीमाण्डौंस्थित निङ्गलाशैनी भगवती मन्दिरको दर्शन गर्नुभएको हो।
मन्दिरको दर्शनपछि ओली सन्ध्याकालिन आरतीमा समेत सहभागी हुनुभयो। सन्ध्याकालिन आरतीमा सहभागी हुनुभएका ओलीलाई भगवतीको प्रसाद स्वरुप तामाको गाग्री प्रदान गरिएको छ। एमाले अध्यक्ष ओलीसंगै केन्द्रीय कमिटिका पदाधिकारी र सदस्यहरुले समेत निङ्गलाशैनी भगवतीको दर्शन गर्नुभयो।
‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राञ को उद्घाटनका लागि ओली आज बैतडी आउनुभएको हो। संकल्प यात्राको ओलीले बिहीबार बिहान झुलाघाटमा नेपाली झण्डा झण्डोत्तोलन गरेर शुभारम्भ गर्नुहुने कार्यक्रम रहेको नेकपा एमाले बैतडीका जिल्ला कमिटि सचिव चक्र कार्कीले जानकारी दिनुभयो।
संकल्प यात्राको समुदघाटनपछि त्रिपुरा सुन्दरी मन्दिरको दर्शन,सहीद दशरथचन्द, बलदेब रिचपलेको साकिलमा माल्यर्पणको कार्यक्रम छ। त्यसपछि बिहान ११ बजे गोठलापानीमा विशाल आमसभाको आयोजना गरिएको छ। त्यसपछि साँझ खोडपेमा बझाङका नेता कार्यकर्तासंगको भेटघाट रहेको जनाएको छ।
यो यात्रा मध्यपहाडी लोकमार्गकेन्द्रित हो। संकल्प यात्राका क्रममा स्थानीयसंग भेटघाट,सीमा समस्याका विषयमा छलफल र राष्ट्रिय एकताको सवल आधार निर्माण गर्ने उद्देश्यले अभियानको आयोजना गरिएको एमालेले जनाएको छ।