बैतडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजतन्त्र नफर्किने दाबी गर्नुभएको छ। झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको झुलाघाटमा उद्दघाटन गरेपछि गोठलापानीमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा केहि अस्थिरता निम्त्याउने व्यक्तिले राजतन्त्र फर्काउने सपना देखेकाले त्यो पूरा हुन नसक्ने बताउनुभयो। गणतन्त्रको विरोध गर्ने काम भइरहेकोले अब पछाडि फर्कन र रैति हुन नसक्ने उहाँको भनाइ छ। उहाँले भन्नुभयो, राजतन्त्र फर्काउनु भनेको फेरि दासता ल्याउनु हो, हामी दास हुन सक्दैनौं।
यस्तै ओलीले देश निर्माणको अभियान अन्तर्गत संकल्प यात्रा सञ्चालन गरिएको बताउदै देश बनाउने जिम्मा नेकपा एमालेले लिने उद्घोष गर्नुभयो। उहाँले भन्नुभयो, हाम्रो यात्राको क्रममा स्थानीय जनतासंग सम्वाद गर्ने र राष्ट्रिय सन्देश दिने अभियान हो,। देश बनाउने जिम्मा नेकपा एमालेले लिन्छ।
बैतडी जिल्ला धार्मिक,पर्यटकीय र अन्य हिसाबले महत्वपूर्ण सम्भावना बोकेको जिल्ला रहेको बताउँदै अध्यक्ष ओलीले मध्यपहाडी क्षेत्रको विकासका लागि सम्वाद गर्ने हेतुले अभियानको थालनी गरेको बताउनुभयो। नेकपा एमाले सार्वभौमसत्ता, स्वाधिनताको रक्षाका लागि सदैव लडिरहेको बताउँदै अध्यक्ष ओलीले जनताको हितका निम्ति काम गर्न आफूहरु लागिपरेको बताउनुभयो।
सहिद दशरथचन्द र देवभूमीको जिल्ला बैतडी थुप्रै सम्भावना बोकेको जिल्ला रहेको बताउदै सहिद दशरथचन्द स्मृति प्रतिष्ठानलाई राष्ट्रिय प्रतिष्ठान बनाउनुपर्नेमा जोड दिनुभयो। झुलाघाटमा पक्की पुल आवश्यक रहेकोमा जोड दिदै तुइन बिस्थापन गरि पुल बनाउने कार्य एमाले सरकारले गरेको दाबी गर्नुभयो।
उहाँले भन्नुभयो, एमालेले तुइन बिस्थापित गरि झोलुंगे पुल बनाएको,पुनर्निर्माण गरेकोमा, सडक बाटाघाटा बनाएकोमा अहिलेको सरकारलाई पिर परेको छ। ,
एमाले सरकारको पाला थुप्रै विकास भएपनि अहिले। आर्थिक संकट चुलिएर कर्मचारीलाई तलब खुवाउन समेत धौ धौ परेको ओलीले बताउनुभयो। मध्यपहाडी लोकमार्गकेन्द्रित यात्राबाट राष्ट्रिय एकताको सवल आधार निर्माण गर्ने एमालेको उद्देश्य रहेको जनाएको छ।