बैतडीमा बिडिसिए कप क्रिकेट शुरू,क्यानका अध्यक्ष चन्दद्वारा उद्घाटन

बैतडी -बैतडीमा आजदेखि बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिता शुरू भएको छ। प्रतियोगिताको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले उद्घाटन गर्नुभयो। दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा अध्यक्ष चन्दले बलिङ र बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले ब्याटिङ गर्दै उद्घाटन गर्नुभयो।

उद्घाटनपछि पहिले खेलमा अहिले एनआरवाइसी र पञ्चकोटी भिडिरहेका छन्। पञ्चकोटीले टस जितेर ब्याटिङ गरिरहेको स्कोरर द्रोपती कुँवरले जानकारी दिनुभयो।बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन हुने बिडिसिए कपको यो २० औं संस्करण हो।

प्रतियोगितामा सहभागी हुने १३ टोलीलाई चार समूहमा विभाजन गरि खेलहरू भइरहेका बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोद बहादुर चन्दले जानकारी दिनुभयो ।यो बर्ष बिडिसिए कप वान डे फम्र्याटमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ।

विगत बर्षहरुमा टी–२० फम्र्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो बर्ष ५० ओभरमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोगटीले बताउनुभयो। प्रतियोगिताको विजेतालाई ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेतालाई ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ । प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.