बिडिसिए कप: कीर्तिमानी जितसंगै निङलाशैनी सेमिफाइनलमा,खडककाे दाेहाेराे शतक

बैतडी-कीर्तिमानी जित निकाल्दै निङलाशैनी क्रिकेट क्लब(एनसीसी), बैतडीमा जारी २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ।
कीर्तिमानी जित निकाल्ने क्रममा एनसीसीले महामाया क्रिकेट क्लब,दुर्गाभवानीलाई ५१५ रनले पराजित गर्याे।बिडिसिए इतिहासमै एनसीसीकाे याे ठुलाे रन अन्तरकाे जित हाे। एनसीसीले दिएकाे ५८८ रनकाे लक्ष्य पन्छाएकाे महामाया १५.१ ओभरमा ७२ रनमा समेटियो ।

उसका जयबहादुर टाेक्टरेले १६ र यज्ञराज भट्टले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् । महामायाकाे पारी ध्वस्त पार्ने क्रममा एनसीसीका हिम्मत सिंह महराले ३ तथा सन्ताेष बिजले,समीर बाेहरा र कप्तान रिसिकेश बाेहराले २/२ विकेट हात पारे। त्यसअघि दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा टस जितेर महामायाले एनसीसीलाई ब्याटिङकाे निम्ता दिएकाे थियाे। पहिला ब्याटिङ गरेकाे एनसीसीले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतीमा ५८७ रन बनायाे। जुन बिडिसिए इतिहासमै उच्च स्काेर हाे। जसमा खडक बाेहराले कीर्तिमानी दाेहाेराे शतक हिर्काए।म्यान अफ द म्याच चुनिएका खडकले १४५ बलकाे सामना गर्दै ३५ चाैका र ७ छक्काकाे मद्दतमा २४२ रन बनाए। खडक बिडिसिएमा दाेहाेराे शतक प्रहार गर्ने पहिलाे खेलाडी समेत बनेका छन्।

हालसम्म कुनै पनि ब्याटरले दाेहाेराे शतक प्रहार गर्न सकेका छैनन् । यस्तै गजेन्द्र बाेहराले १३८ रनकाे शतकीय पारी खेले । उनले ७९ बलमा २१ चाैका र ३ छक्का हिर्काए।खडक र गजेन्द्रबीच २७३ रनकाे कीर्तिमानी साझेदारी पनि भयाे।
महामायाका लागि दिनेश रावतले ३ र जयबहादुर टाेक्टरेले १ विकेट हात पारे। लगातार दाेस्राे जित हात पार्दै एनसीसी सेमिफाइनल पुग्दा महामाया प्रतियोगिताबाट बाहिरिएको स्काेरर नरेन्द्र चन्दले बताउनुभयो ।
बैतडी जिल्ला क्रिकेट संघकाे आयोजनामा मंसिर १६ गतेदेखि शुरू भएको प्रतियोगितामा १३ टाेलीकाे सहभागीता रहेकाे छ।

प्रतियोगितामा सहभागी हुने १३ टाेलीलाई चार समूहमा विभाजन गरि खेलहरू भइरहेका बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेद बहादुर चन्दले जानकारी दिनुभयो ।यो बर्ष बिडिसिए कप वान डे फम्र्याटमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ।

विगत बर्षहरुमा टी–२० फम्र्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो बर्ष ५० ओभरमा भइरहेकाे बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बाेकटीले बताउनुभयाे।प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ । प्रतियाेगिताले क्रिकेटकाे विकासका साथै खेलाडी उत्पादनमा सहयाेग पुग्ने विश्वास गरिएको छ।यसअघि १९ औं संस्करणको उपाधि पञ्चकाेटी क्रिकेट क्लबलाई १२९ रनले स्तब्ध पार्दै निङलाशैनी क्रिकेट क्लबले हात पारेकाे थियो ।

Leave A Reply

Your email address will not be published.