बैतडीमा जारी २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा दशरथचन्द एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार सम्पन्न समूह सी को अन्तिम खेलमा महारूद्र युवा क्लबमाथि ३०४ रनको विशाल जित दर्ता गर्दै एकेडेमी सेमिफाइनलमा पुगेको हो।
एकेडेमीले दिएको ३२३ रनको लक्ष्य पन्छाएको महारूद्र ११।४ ओभरमा १८ रनमा अलआउट भयो। महारूद्रले बिडिसिए कपको इतिहासमै न्यून स्कोरमा अलआउट हुँदै खराब कीर्तिमान बनायो। उसका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।एकेडेमीका वसन्त खत्रीले ६ र विरेन्द्र चन्दले ३ विकेट हात पाए।
त्यसअघि दशरथचन्द खेलमैदान,सुन्दरखालीमा टस जितेर पहिला ब्याटिङ गरेको एकेडेमी ४६।४ ओभरमा ३२२ रनमा समेटियो। जसमा बसन्त खत्रीले ७८, कप्तान पुरन रावलले ५४, आयुश चन्दले ४८ रनको योगदान गरे। महारूद्रका जितेन्द्र रावल,रामसिंह भाट,मनोज ऐरी र राजेश भाटले २र२ विकेट झारे ।
एकेडेमीका बसन्त खत्री खेलका म्यान अफ द म्याच चुनिएका स्कोरर नरेन्द्र चन्दले जानकारी दिनुभयो। एकेडेमीले अब सेमिफाइनलमा पुस १ गते एनआरवाइसी बठ्ठासंग खेल्नेछ।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मंसिर १६ गतेदेखि शुरू भएको प्रतियोगितामा १३ टोलीको सहभागीता रहेको छ। प्रतियोगितामा सहभागी हुने १३ टोलीलाई चार समूहमा विभाजन गरि खेलहरू भइरहेका बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोद बहादुर चन्दले जानकारी दिनुभयो।
यो बर्ष बिडिसिए कप वान डे फम्र्याटमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ। विगत बर्षहरुमा टी–२० फम्र्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो बर्ष ५० ओभरमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले बताउनुभयो।
प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ। प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ।
यसअघि १९ औं संस्करणको उपाधि पञ्चकोटी क्रिकेट क्लबलाई १२९ रनले स्तब्ध पार्दै निङलाशैनी क्रिकेट क्लबले हात पारेको थियो। यस प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय छनौटका रूपमा समेत लिइएको छ।
