बिडिसिए कप क्रिकेट : त्रिपुराको विजयी शुरूवात

बैतडीमा जारी २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा आजदेखि समूह डी का खेल शुरू भएका छन्। उक्त समूहको पहिलो खेलमा यौंगस्टार मेलौलीलाई ९८ रनले हराउँदै त्रिपुरा क्रिकेट क्लबले विजयी शुरूवात गरेको छ।

त्रिपुराले दिएको १९५ रनको लक्ष्य पन्छाएको मेलौली २४।४ ओभरमा ९६ रनमा समेटियो । उसका रामचन्द्र पोखरेलले २०,आशिष विष्ट १५ र मनोज भट्टले १३ रनको योगदान गरे। त्रिपुराका मनिस धामीले ,५जयसिंह धामीले ३ विकेट हात पारे।

त्यसअघि दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा टस हारेर ब्याटिङको निम्ता पाएको त्रिपुरा २९।३ ओभरमा १९४ रनमा अलआउट भयो। जसमा लोकेन्द्र सिंह थापाले ६५,जयसिंह धामी २३,लोकेन्द्र थापाले १९ रन बनाए। मैलौलीका लागि कप्तान मंगेश दयालले ३ र जयराम भट्टले २ विकेट झारे।

त्रिपुराका मनिस धामी खेलका म्यान अफ द म्याच चुनिएका स्कोरर तिलक बोहराले जानकारी दिनुभयो। बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मंसिर १६ गतेदेखि शुरू भएको प्रतियोगितामा १३ टोलीको सहभागीता रहेको छ।

प्रतियोगितामा सहभागी हुने १३ टोलीलाई चार समूहमा विभाजन गरि खेलहरू भइरहेका बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोद बहादुर चन्दले जानकारी दिनुभयो । यो बर्ष बिडिसिए कप वान डे फम्र्याटमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ।

विगत बर्षहरुमा टी-२० फम्र्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो बर्ष ५० ओभरमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले बताउनुभयो। प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ ।

प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ। यसअघि १९ औं संस्करणको उपाधि पञ्चकोटी क्रिकेट क्लबलाई १२९ रनले स्तब्ध पार्दै निङलाशैनी क्रिकेट क्लबले हात पारेको थियो।यस प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय छनौटका रूपमा समेत लिइएको छ।

Leave A Reply

Your email address will not be published.