बिडिसिए कप क्रिकेट : पाटन र मेलौली भिड्दै

बैतडीमा जारी २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा आज समूह डीको दोस्रो खेल हुदैछ। दोस्रो खेलमा यौंगस्टार मेलौली र पाटन क्रिकेट क्लब भिडिरहेका छन्।

दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा मेलौलीले टस जितेर बलिङ गर्दैछ। पहिलो खेल हारेको मेलौलीलाई सेमिफाइनलको सम्भावना कायम राख्न यो खेल जित्नै पर्ने दबाब छ। पाटन पनि प्रतियोगितामा सुखद शुरूवात गर्न चाहन्छ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मंसिर १६ गतेदेखि शुरू भएको प्रतियोगितामा १३ टोलीको सहभागीता रहेको छ। प्रतियोगितामा सहभागी हुने १३ टोलीलाई चार समूहमा विभाजन गरि खेलहरू भइरहेका बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोद बहादुर चन्दले जानकारी दिनुभयो ।

यो बर्ष बिडिसिए कप वान डे फम्र्याटमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ। विगत बर्षहरुमा टी–२० फम्र्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो बर्ष ५० ओभरमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले बताउनुभयो।

प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ। प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ।

यसअघि १९ औं संस्करणको उपाधि पञ्चकोटी क्रिकेट क्लबलाई १२९ रनले स्तब्ध पार्दै निङलाशैनी क्रिकेट क्लबले हात पारेको थियो । यस प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय छनौटका रूपमा समेत लिइएको छ।

Leave A Reply

Your email address will not be published.