बैतडी । सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले तीनै तहका सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको छ। बैतडीको दोगडाकेदार गाउँपालिका ७ स्थित भूमीराज मावि चडेपानीको ५० औं बार्षिकोत्सव तथा स्वर्ण जयन्ती समारोहलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री भट्टले शिक्षा विकासको मेरुदण्ड भएकोले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।
भौतिक विकासले मात्रै प्रगति नहुने भन्दै मन्त्री भट्टले समाजको विकासका लागि शिक्षा क्षेत्रको विकास अनिवार्य रहेको बताउनुभयो। देशमा अहिले तीन तहको सरकारको रहेको बताउँदै उनले तीनै तहका सरकारले शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने उनले बताउनुभयो। उहाँले भन्नुभयो,ूदक्ष जनशक्ति उत्पादनका लागि शिक्षा क्षेत्रमा लगानी गनुपर्छ। विकासको मेरुदण्ड भनेको नै शिक्षा हो । त्यसैले तीनै तहका सरकारले शिक्षामा लगानी बढाउनु आवश्यक छ ।

शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गरेका मुलुक विकसित भएको भन्दै मन्त्री भट्टले समान शिक्षा नीति निर्माणमा जोड दिनुभयो। एक अर्को प्रसंगमा मन्त्री भट्टले सुदूरपश्चिम प्रदेश सरकार आफ्नो क्षेत्रमा विकासका लागि प्रतिबद्ध रहेको दाबी गर्नुभयो। प्रदेशका सम्भावनाहरुको खोजी गरी समृद्ध प्रदेश निर्माणका लागि अहिलेको सरकार लागिपरेको उनले बताउनुभयो। उहाँले भन्नुभयो,ूविकास निर्माणका काममा राजनीतिक भेदभाव गर्न हुदैन। विकास निर्माणका कामबाट सबै नागरिक लाभान्वित हुने खालको वातावरण निर्माण गर्नुपर्छ।
यसैबीच विद्यालयका तर्फबाट मन्त्री भट्टलाई ज्ञापन पत्र समेत बुझाइएको छ। विद्यालयको चौतर्फी विकासका लागि प्रदेश सरकारको सहयोग आवश्यक रहेकाले ज्ञापन पत्र पेश गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दराज भट्टले बताउनुभयो।
विद्यालयमा छात्राछात्रा शौचालय निर्माण, विज्ञान प्रयोगशाला, बालमैत्री कक्षाको लागि आवश्यक फर्निचरको व्यवस्था, प्रविधिमैत्री कक्षा निर्माणको लागि इन्टरनेटको व्यवस्था गरिदिनुपर्ने माग गर्दै मन्त्री भट्टलाई ज्ञापन पत्र बुझाइएको विद्यालयका प्रधानाध्यापक शंकरदत्त भट्टले बताउनुभयो। बार्षिकोत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक भट्टले ८६ लाख आय र ८० लाख व्ययको विवरण समेत प्रस्तुत गरेका थिए।
यस्तै विद्यालयका संस्थापक, जमीनदाता, भूपू शिक्षक र विद्यालयका सहयोगीहरुलाई स्वर्णजयन्तीको अवसरमा प्रशंसापत्रसहित सम्मान गरिएको प्रधानाध्यापक भट्टले बताउनुभयो। यस्तै विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ भने स्वर्ण जयन्तीको अवसरमा आयोजना गरिएका खेलकुद तथा अन्य क्रियाकलापमा विजयी भएका छात्रछात्राहरुलाई पनि पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दराज भट्टको अध्यक्षतामा भएको स्वर्ण जयन्ती समारोहमा दोगडाकेदार गाउँपालिकाका प्रवक्ता दिनेशप्रसाद भट्ट, नेपाली कांग्रेस बैतडीका उपसभापति बिरबहादुर बिष्ट, अभिभावक, शिक्षक, विद्यार्थी लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो।
वि।सं २०३० सालमा स्थापना भएको विद्यालयमा अहिले कक्षा १० सम्मको पढाई भइरहेको छ। उक्त विद्यालयमा २ सय ४८ जना विद्यार्थी अध्ययनरत रहेका छन्।
