बैतडी-प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटको उपाधि कैलालीले जितेको छ। शुक्रबार सम्पन्न फाइनल खेलमा बैतडीलाई ६ विकेटले पराजित गर्दै कैलालीले उपाधि कब्जा गरेको हो ।
बैतडीले दिएको ६३ रनको लक्ष्य कैलालीले १४.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि निलम पाण्डे १९,स्नेहा महराले १८ रन जोडिन्। बैतडीका लागि बसन्ती बोहराले २, करिश्मा थापाले १ विकेट हात पारिन् ।
त्यसअघि कैलालीको तेघरीस्थित शैनिक आवासीय महाविद्यालयको खेलमैदानमा पहिला ब्याटिङ गरेको बैतडी १८।४ ओभरमा ६२ रनमा समेटियो। जसमा करिस्मा थापाले सर्वाधिक १० रन बनाईन्। कैलालीका लागि ईश्वरी विष्टले ३ विकेट हात पारिन् । ईश्वरी ओम्यान अफ द फाइनल चुनिएकी स्कोरर नरेन्द्रराज भट्टले बताउनुभयो। यसैबीच बझाङकी कबिता जोशी प्रतियोगिताकै सर्बोत्कृष्ट खेलाडी हुन सफल भइन् । कैलालीकी रूबी पोदार बेस्ट ब्याटर र कैलालीकै लक्ष्मी साउद बेस्ट बलर चुनिएकी छन्।

प्रदेशस्तरीय छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सुदूरपश्चिमको टोली बनाइनेछ। उक्त टोली अगामी पुसमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउनेछ। काठमाडौंमा हुने प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सात प्रदेश र एक विभागीय क्लब एपीएफको सहभागीता रहने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।