बैतडीमा जारी २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा समूह डीको अन्तिम खेलमा त्रिपुरा क्रिकेट क्लब र पाटन क्रिकेट क्लब भिड्दैछन्। दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा पाटनले टस जितेर बलिङ गर्दैछ।
पहिलो खेलमा पराजित भएको पाटनलाई सेमिफाइनल पुग्न आजको खेल जित्नै पर्ने दबाब छ। यसअघि पहिलो खेलमा जित हात पारेको त्रिपुरा भने आज विजयी भए सोझै अन्तिम चारमा सुरक्षित हुनेछ। यद्यपि त्रिपुराले आजको खेल हारेको खण्डमा त्रिपुरा,मेलौली र पाटनबीच नेट रनरेटमा अगाडि रहेको टोली सेमिफाइनलमा पुग्नेछ।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मंसिर १६ गतेदेखि शुरू भएको प्रतियोगितामा १३ टोलीको सहभागीता रहेको थियो। प्रतियोगितामा सहभागी हुने १३ टोलीलाई चार समूहमा विभाजन गरि खेलहरू भएका बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोद बहादुर चन्दले जानकारी दिनुभयो।
यो बर्ष बिडिसिए कप वान डे फम्र्याटमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ। विगत बर्षहरुमा टी–२० फम्र्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो बर्ष ५० ओभरमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले बताउनुभयो।
प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ। प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ।
यसअघि १९ औं संस्करणको उपाधि पञ्चकोटी क्रिकेट क्लबलाई १२९ रनले स्तब्ध पार्दै निङलाशैनी क्रिकेट क्लबले हात पारेको थियो । यस प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय छनौटका रूपमा समेत लिइएको छ।