खेलाडीका लागि अनुशासन महत्त्वपूर्ण : कानुनमन्त्री भट्ट

बैतडी । सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले खेल र खेलाडीका लागि अनुशासन महत्त्वपूर्ण हुने बताउनुभयो। बिडिसिए कप क्रिकेट प्रतियोगिताको दशरथचन्द क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलको म्यान अफ द म्याच वितरण समारोहमा बोल्दै मन्त्री भट्टले यस्तो बताउनुभएको हो। उहाँले भन्नुभयो,खेलमा एक टोलीको जित एकको हार हुन्छ,तर त्यसमा अनुशासन महत्त्वपूर्ण हो।

अनुशासनबिना खेल खेल्नुको कुनै अर्थ हुन्छ। सबैले अनुशासनमा बस्न अनिवार्य हुन्छ। उहाँले भन्नुभयो,अनुशासनका साथै मेहनतले मात्रै सफलता मिल्छ। यसैबिच उहाँले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

मन्त्री भट्टले प्रतियोगिताको प्रथम पुरूस्कार प्रायोजन गर्नुभएकोमा उक्त रकम समेत क्रिकेट संघलाई हस्तान्तरण गरिएको छ। यस्तै म्यान अफ द म्याच समारोहमा पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल, दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्द, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बोहरा,बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दलगायतको उपस्थिती रहेको थियो।

शनिबार सम्पन्न खेलमा पाटन क्रिकेट क्लबलाई ७ रनले हराउदै त्रिपुरा क्रिकेट क्लब सेमिफाइनलमा पुगेको छ। उक्त खेलमा त्रिपुराका जयसिंह धामी म्यान अफ द म्याच भए।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मंसिर १६ गतेदेखि शुरू भएको प्रतियोगिता पुस ४ गते सम्पन्न हुनेछ। प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ।

प्रधानमन्त्री कप एकदिवसीय छनौटका रूपमा समेत लिइएको प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.