बैतडी । नेकपा माओवादी केन्द्र बैतडीले पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुसंग अन्तरक्रिया गरेको छ। जिल्लाको पाटनमा स्थानीय तह र वडामा निर्वाचित जनप्रतिनिधिहरुसंग छलफल तथा अन्तरक्रिया सम्पन्न गरिएको माओवादी केन्द्र बैतडीका संयोजक शंकर भण्डारीले बताए।
नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको रुपान्तरण अभियान अन्तर्गत जनप्रतिनिधिहरुसंग छलफल गरिएको हो। छलफलका क्रममा सरकारले गरेका कामहरुको बारेमा नागरिकलाई जानकारी गराउने, निर्वाचित जनप्रतिनिधिहरुले नागरिकका पक्षमा काम गर्ने र सरकारी सेवालाई सर्वसुलभ रुपमा प्राप्त गर्ने वातावरणको निर्माण गर्नुपर्ने लगायतका बिषय उठेका छन्।
यस्तै स्थानीय तहका जनप्रतिनिधिहरुले पनि जनमुखी भएर काम गर्नुपर्नेमा छलफलमा जोड दिइएको छ। सुशासन कायम गर्नका लागि पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई काम गर्न आग्रह गरिएको संयोजक भण्डारीले बताए ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा मेलौली नगरपालिकाको प्रमुख तथा पाटन नगरपालिकाको उपप्रमुखमा माओवादीका उम्मेदवार निर्वाचित भएका थिए। यस्तै जिल्लाभरीका ८४ वडा मध्ये १२ वडामा माओवादी केन्द्रले जित हात पारेको थियो।
माओवादीका उम्मेदवारले जितेको ठाउँका कामलाई नागरिकमैत्री बनाउने बिषयमा छलफल भएको संयोजक भण्डारीले बताए। जिल्ला संयोजक भण्डारीको अध्यक्षतमा भएको छलफलमा माओवादी केन्द्रका बैतडी इञ्चार्ज रामप्रसाद तिमिल्सना प्रमुख अतिथी रहेका थिए।
उक्त छलफल तथा बैठकमा माओवादी केन्द्रका केन्द्रीय सदस्य भरत धानुक (पुकार), प्रदेश कमिटि सदस्य प्रेमप्रकाश भट्ट (आदित्य) लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।