बैतडीमा जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा डडेल्धुराले डोटीमाथि शानदार जित निकालेको छ। प्रतियोगितामा दोस्रो जित दर्ता गर्ने क्रममा डडेल्धुराले डोटीलाई १० विकेटले हरायो।
जितका लागि पाएको ७० रनको सामान्य लक्ष्य डडेल्धुराले १२।१ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्यो ]। जसमा विशाल ऐेर ४७ र निशान्त बुढाऐर १७ रनमा अविजित रहे।
यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस जितेर हारेर ब्याटिङको निम्ता पाएको डोटी १९।४ ओभरमा ६९ रनमा समेटियो। उसका कप्तान भोजराज भट्ट र पारस महतले १५र१५ रन हिर्काए। डडेल्धुराका लागि कप्तान सुरज देउवाले ४ , निरज ऐरले ३ विकेट हात पारे। सुरज खेलका म्यान अफ द म्याच चुनिएका स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो।
दोस्रो जित निकालेको डडेल्धुराको क्वालिफायर हुने सम्भावना जीवितै छ। भोलि हुने डोटी र बझाङबीचको खेलले क्वालिफायर हुने टिमको टुंगो लाग्नेछ।
बझाङ विजयी भए सोझै क्वालिफायर हुनेछ भने पराजय भए डोटी,डडेल्धुरा र बझाङको नेट रनरेटका आधारमा क्वालिफायरको टुंगो लाग्नेछ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना तथा बैतडी जिल्ला क्रिकेट संघको सहआयोजनामा पुस ८ गतेदेखि प्रतियोगिता सञ्चालन भएको हो।प्रादेशिक क्रिकेट संघले यसवर्षदेखि दुई चरणमा प्रदेश छनौट गरिररहेको छ।
पहिलो चरणमा बैतडीमा प्लेट च्याम्पियनसिप भइरहेको छ। दोस्रो चरणमा कैलालीमा ईलिट च्याम्पियनसिपका खेलहरू हुनेछन्। प्लेट च्याम्पियनसिपमा दार्चुला,बझाङ,डडेल्धुरा,डोटी तथा ईलिट च्याम्पियनसिपमा बैतडी,कैलाली,कञ्चनपुर र अछाम सहभागी छन् ।
गतवर्षको प्रदेश छनौटमा सेमिफाइनल पुगेका टोलीले सोझै ईलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेल्न लागेका हुन्। प्लेट च्याम्पियनसिपको विजेता टोलीले ईलिट च्याम्पियनसिपमा सहभागी हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बोहराले बताउनुभयो।
ईलिट च्याम्पियनसिपको उद्घाटन खेलमा पुस १४ गते बैतडी र प्लेट च्याम्पियनसिपको विजेता टोलीबीच खेल हुनेछ।