बैतडीमा जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट अर्थात प्लेट च्याम्पियनसिपको अन्तिम खेलमा बझाङ र डोटी भिड्दैछन्। दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस जितेर बझाङले बलिङ गरिरहेको छ।
आजको खेलमा बझाङले जित निकाल्यो भने सोझै च्याम्पियन बन्नेछ। अन्यथा बझाङ, डडेल्धुरा र डोटीमध्ये नेट रनरेटमा अगाडि रहने टोली च्याम्पियन घोषित हुनेछ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना तथा बैतडी जिल्ला क्रिकेट संघको सहआयोजनामा पुस ८ गतेदेखि प्रतियोगिता सञ्चालन भएको हो।
प्रादेशिक क्रिकेट संघले यसवर्षदेखि दुई चरणमा प्रदेश छनौट गरिररहेको छ। पहिलो चरणमा बैतडीमा प्लेट च्याम्पियनसिप भइरहेको छ।दोस्रो चरणमा कैलालीमा ईलिट च्याम्पियनसिपका खेलहरू हुनेछन्।
प्लेट च्याम्पियनसिपमा दार्चुला, बझाङ, डडेल्धुरा,डोटी तथा ईलिट च्याम्पियनसिपमा बैतडी, कैलाली, कञ्चनपुर र अछाम सहभागी छन्। गतवर्षको प्रदेश छनौटमा सेमिफाइनल पुगेका टोलीले सोझै ईलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेल्न लागेका हुन्।
प्लेट च्याम्पियनसिपको विजेता टोलीले ईलिट च्याम्पियनसिपमा सहभागी हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बोहराले बताउनुभयो। ईलिट च्याम्पियनसिपको उद्घाटन खेलमा शनिबारदेखि बैतडी र प्लेट च्याम्पियनसिपको विजेता टोलीबीच खेल बैतडीमै हुनेछ।