बैतडीमा शुरू प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट अर्थात इलाइट च्याम्पियनसिपको खेलमा बैतडीले विजयी शुरूवात गरेको छ। सुखद शुरूवात गर्ने क्रममा बैतडीले बझाङमाथि १८१ रनको विशाल जित निकाल्यो । जितका लागि पाएको २८१ रनको लक्ष्य पन्छाएको बझाङ १७.५ ओभरमा ९९ रनमा अलआउट भयो। उसका सनम बुढाथोकीले सर्वाधिक २६ रन बनाए। बैतडीका कप्तान रिसिकेश बोहराले ४,हिक्मत महराले ३,सन्तोश चन्दले २ विकेट लिए ।
यसअघि दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा टस हारेर पहिला ब्याटिङ गरेको बैतडीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २८० रन बनायो ।जसमा प्रदीप चन्द र आयुश चन्दले अर्धशतक हिर्काए। प्रदीप ८३ र आयुश ५९ रनमा आउट भए। बझाङका लागि कप्तान सञ्जय बोहरा र अभिनाश सिंहले २/२ विकेट हात पारे। बैतडीका प्रदीप चन्द खेलका म्यान अफ द म्याच चुनिएका स्कोरर तिलक बोहराले बताउनुभयो।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना तथा बैतडी जिल्ला क्रिकेट संघको सहआयोजनामा पुस ८ गतेदेखि प्रतियोगिता सञ्चालन भएको थियो।प्रादेशिक क्रिकेट संघले यसवर्षदेखि प्लेट र इलाइट च्याम्पियनसिप गरेर दुई चरणमा प्रदेश छनौट गरिररहेको छ। गतवर्षको प्रदेश छनौटमा सेमिफाइनल पुगेका टोलीले सोझै ईलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेलेका हुन्।
